चैतको मध्य बितिसक्दा पनि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन कार्य अझै सुरु हुन सकेको छैन। हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठनका कारण प्रक्रियामा केही ढिलाइ भएको हो। नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको पदबहाली र मन्त्रालयका विभिन्न महाशाखाहरूको ब्रिफिङमा समय खर्चिनुपरेकाले कार्यतालिका प्रभावित भएको हो। अर्थसचिव घनश्याम उपाध्यायका अनुसार अब थप ढिलाइ नगरी बजेट लेखनलाई तीव्रता दिइनेछ। सामान्यतया १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यताका कारण फागुनदेखि नै पूर्वतयारी सुरु हुने गरे पनि यसपटक भने केही साता ढिला भएको छ।
बजेट निर्माणको परम्परा अनुसार मन्त्रालयगत बजेट सूचना प्रविष्ट प्रणालीमा कार्यक्रमहरू प्रविष्ट गर्ने म्याद १५ चैतसम्म रहने गर्छ। यो प्रणाली बन्द भएपछि अर्थ मन्त्रालयले डोर लक गरी गोपनीयताका साथ बजेट मस्यौदा लेखन सुरु गर्छ । यता राष्ट्रिय योजना आयोगले भने १५ चैतदेखि नै आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिसकेको छ। आयोगका प्रवक्ता हरिशरण पुडासैनीका अनुसार उपाध्यक्ष नियुक्त नभए पनि आन्तरिक तयारी र आयोजना बैंकमा विवरण प्रविष्ट गर्ने काम सुचारु छ। यो छलफल २२ चैतसम्म जारी रहने र त्यसपछि थप निर्णयहरू लिइने बताइएको छ।
आगामी आर्थिक वर्षका लागि राष्ट्रिय स्रोत अनुमान समितिले १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरिसकेको छ। जसमा पुँजीगत खर्चतर्फ ३ खर्ब ६७ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ, जुन चालु आर्थिक वर्षको तुलनामा करिब १७ अर्बले कम हो। चालु खर्चतर्फ ७ खर्ब ५५ अर्ब २४ करोड र वित्तीय हस्तान्तरणका लागि ४ खर्ब १९ अर्ब १५ करोडको सीमा तोकिएको छ। मन्त्रालयहरूले यी सीमाका आधारमा आफ्ना कार्यक्रम प्रस्ताव गरिसकेका छन्, जसमाथि अब मन्त्री र सचिवहरूबिच सैद्धान्तिक छलफल हुनेछ। वैशाख १५ सम्म मन्त्रालयगत छलफल सकेर १० वैशाखभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय सदनमा पेस गर्ने लक्ष्य राखिएको छ।
बजेट तयारीका क्रममा अर्थ मन्त्रालयले राजनीतिक दल, पूर्वअर्थमन्त्री, विज्ञ र पूर्वगभर्नरहरूसँग पनि राय परामर्श गर्ने गर्छ। यसैबिच, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन समेत आह्वान गरिसकेका छन l राजस्व परामर्श समितिले जेठ १ गतेभित्र आफ्नो प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। निर्वाचनपछिको पहिलो अधिवेशन भएकाले राजनीतिक र नीतिगत प्रक्रिया मिलाउन समय लागे पनि अबका केही दिनमा बजेट निर्माणले पूर्ण गति लिने प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन ।
बजेट निर्माणकै बिच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक महत्वपूर्ण नीतिगत कदम चालेका छन । उनको पदबहाली पछिको पहिलो निर्णय अनुसार मन्त्रालयले असान्दर्भिक भइसकेका १५ वटा पुराना ऐनहरू खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको छ। यो कार्यदलले पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनलाई आधार मानेर आय टिकट दस्तुर ऐन २०१९ नेपाल एजेन्सी ऐन २०१४ र कालोबजार ऐन २०३२ जस्ता पुराना कानुनहरूको पुनरावलोकन गर्नेछ । यस कदमले लगानीको वातावरण सहज बनाउने र कानुनी जटिलता हटाउने विश्वास लिइएको छ ।


