Banijya News

राजनीतिक र सम्पत्ति शुद्धीकरणको डरले सेयर बजारमा पहिरो

1
1.1K Shares

बालेन्द्र साहको नेतृत्वमा गत शुक्रबार करिब दुई तिहाइ बहुमतको सरकार गठन भएपछि पुँजी बजारका लगानीकर्तामा ठूलो उत्साह छाएको थियो। बलियो सरकार आएसँगै नीतिगत स्थिरता र बजारमैत्री निर्णय हुने अपेक्षामा आइतबारदेखि नेप्सेले नयाँ उचाइ लिने अनुमान गरिएको थियो । तर, राजनीतिक घटनाक्रमले अप्रत्याशित मोड लिँदा र सम्पत्ति शुद्धीकरणको त्रास फैलिँदा बजारले उल्टो गति समातेको छ ।

नयाँ सरकार गठन लगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेकपा एमालेले देशव्यापी सडक आन्दोलनको घोषणा गर्यो। राजनीतिक संयन्त्रमा देखिएको यो मुठभेडको अवस्थाले लगानीकर्ताको मनोबल गिराइदिएको छ। सत्तापक्ष र प्रतिपक्षबीचको टकरावले निम्त्याउन सक्ने अनिश्चितताका कारण आइतबार र सोमबार बजार उच्च अंकले घट्न पुग्यो। मंगलबार केही सम्हालिएको देखिए पनि बुधबार पुनः बजारमा ठूलो गिरावट आएको छ।

बजार घट्नुमा राजनीतिक कारण मात्र नभई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सक्रियतालाई लिएर फैलाइएको हल्लाले पनि मुख्य भूमिका खेलेको छ। सरकारले पूर्वमन्त्री तथा व्यवसायी दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणकै मुद्दामा पक्राउ गरेपछि बजारमा त्रासको वातावरण सिर्जना भएको हो । त्यस लगत्तै अर्का व्यवसायी दीपक भट्टलाई पनि विभागको पत्रका आधारमा अध्यागमन विभागले कालोसूचीमा राखेको समाचार बाहिरिएपछि ठूला लगानीकर्ताहरू थप सशंकित बनेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा अन्य ठूला व्यवसायी पनि पक्राउ पर्न सक्ने आशंकाले बजारमा प्यानिक सेलिङ (आतंकपूर्ण बिक्री) सुरु भएको सरोकारवालाहरू बताउँछन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिका अनुसार बजार अहिले वास्तविक समस्या भन्दा पनि अनावश्यक त्रासका कारण घटिरहेको छ। सम्पत्ति शुद्धीकरणको विषयलाई लिएर बजारमा फैलाइएको नकारात्मक भाष्यले लगानीकर्तालाई त्रसित बनाएको उनको विश्लेषण छ ।

यद्यपि, सेयर बजारका जानकार र प्रतिनिधिहरू भने यो डरलाई निराधार मान्छन्। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार सेयर बजार पूर्णतः बैंकिङ प्रणालीबाट सञ्चालित हुने भएकाले यहाँ अवैध रकम लुकाउन सम्भव नै छैन । ब्रोकर कम्पनीहरूले सेयर किनबेच गर्दा नगदै लेनदेन गर्दैनन्, सबै कारोबार बैंकमार्फत पारदर्शी रूपमा हुन्छ, ढकालले भने, “त्यसैले अवैध रकम सेयर बजारमा छ भन्ने बुझाइ नै गलत छ। लगानीकर्ताहरू आत्तिनुपर्ने कुनै ठोस कारण छैन।”

एक ब्रोकरका अनुसार सेयर बजार जस्तो पारदर्शी क्षेत्रमा कसैले पनि सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले लगानी गर्दैन । विभागले निश्चित व्यक्तिमाथि अनुसन्धान थालेकै भरमा समग्र बजार प्रभावित हुनु दुःखद रहेको ती ब्रोकरको भनाइ छ । उनले थपे, “कुनै एक वा दुई व्यवसायीमाथि छानबिन हुनु राज्यको नियमित प्रक्रिया हो, यसलाई सिंगो पुँजी बजारसँग जोडेर हेर्नु हुँदैन।”

विज्ञहरूका अनुसार सम्पत्ति शुद्धीकरण नियन्त्रणको प्रयासले दीर्घकालमा बजारलाई झन् सुरक्षित र मर्यादित बनाउँछ। पूर्वअध्यक्ष सिजापति भन्छन्, “अवैध आम्दानी बजारमा भित्रिएको छ भने त्यसको सफाइ हुनु जरुरी छ। यसले अल्पकालीन रूपमा बजार घटाए पनि अन्ततः बजारलाई दिगो र संस्थागत बनाउन मद्दत गर्छ।” उनले बजारमा नीतिगत सुधारका कामहरू भइरहेकाले लगानीकर्ताले धैर्यता राख्नुपर्ने सुझाव दिए ।

अहिले बजारका लागि आधारभूत पक्षहरू सकारात्मक नै देखिएका छन् । बैंकको ब्याजदर इतिहासकै न्यून बिन्दुमा छ भने बैंकहरूसँग लगानीयोग्य रकम प्रचुर मात्रामा छ। अन्य उत्पादनशील क्षेत्रमा लगानीको अवसर नभएको अवस्थामा पुँजी बजार नै लगानीको मुख्य गन्तव्य बनेको छ। सरकारले पनि निजी क्षेत्रमैत्री निर्णयहरू गर्ने प्रतिबद्धता जनाइरहेको छ, जसले सुशासन कायम गर्न पुँजी बजारलाई प्राथमिकतामा राखेको देखिन्छ।

पुँजी बजारलाई थप चलायमान बनाउन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले मार्जिन कारोबार कार्यविधि तयार गरिसकेको छ। नेप्सेले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूची समेत सार्वजनिक गरिसकेको छ। आगामी वैशाखदेखि ब्रोकर कम्पनीहरूले नै मार्जिन लेन्डिङ (सेयर धितोमा ऋण) को सुविधा दिने तयारी गरेका छन्। यो व्यवस्था कार्यान्वयनमा आएपछि बजारमा तरलता बढ्ने र लगानीकर्ताले थप राहत पाउने अपेक्षा गरिएको छ ।

समग्रमा, राजनीतिक मुठभेड र सम्पत्ति शुद्धीकरणको अनुसन्धानले बजारमा केही समयका लागि अन्योल सिर्जना गरे पनि यो दीर्घकालीन समस्या नभएको विश्लेषण गरिएको छ। बजारका संवाहकहरूले लगानीकर्तालाई हल्लाको पछि नलागी बजारको वास्तविक अवस्था र नीतिगत सुधारहरूलाई हेरेर मात्र निर्णय लिन आग्रह गरेका छन् । सरकारले राजनीतिक स्थिरताको प्रत्याभूति दिन सके र विभागको अनुसन्धानले निर्दोष व्यवसायीलाई नतर्साउने निश्चित भएमा सेयर बजार पुनः पुरानै लयमा फर्कने निश्चित छ ।

1

Scroll to Top