Banijya News

भृकुटी स्टक ब्रोकिङ निलम्बनमा ७९ हजार लगानीकर्ताको सेयर कारोबार अवरुद्ध

1
1.1K Shares

नेपाल धितोपत्र बोर्डले गम्भीर कानुनी उल्लंघनको आरोपमा भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) को अनुमतिपत्र तत्कालका लागि निलम्बन गरेको छ। व्यवसायी दिपक भट्टले सेयर कारोबार गर्दा आफ्नो बैंक खाता प्रयोग नगरी हिमालयन रि-इन्स्योरेन्स, नेपाल लाइफको सहायक कम्पनी र विभिन्न फण्डहरूबाट कुल ३ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गरेको पाइएपछि बोर्डले यो कदम चालेको हो।

अनुसन्धानका क्रममा ब्रोकरले ग्राहकको रकम अन्य प्रयोजनमा प्रयोग गरेको, २५ प्रतिशत अग्रिम मौज्दात नलिई सेयर खरिद सुविधा दिएको र बिक्रीकर्तालाई समयमै भुक्तानी नदिएको जस्ता कैफियत भेटिएका छन्। हाल यो ब्रोकरको दायित्व ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढी देखिएकाले बजारको सुरक्षाका लागि बोर्डले अधिकतम ६ महिनाका लागि यसको कारोबार रोक्का गरेको हो।

ब्रोकर निलम्बनमा परेपछि यसमा आबद्ध ७९ हजार ७१७ जना लगानीकर्ताको नियमित सेयर कारोबार प्रभावित भएको छ। यद्यपि, लगानीकर्ताहरूले आफ्नो डिम्याट खाता भने सार्नुपर्ने छैन। सेयर कारोबार सुचारु गर्नका लागि ग्राहकले भृकुटी स्टकलाई इमेल वा पत्रमार्फत आफ्नो TMS खाता बन्द गर्न अनुरोध गर्नुपर्नेछ।

पुरानो ब्रोकरले खाता बन्द गरिदिएपछि लगानीकर्ताले अन्य कुनै पनि ब्रोकरकहाँ गएर नयाँ खाता खोली कारोबार अघि बढाउन सक्नेछन्। बोर्डले निलम्बन अवधिभित्रै लगानीकर्ताहरूको बाँकी बक्यौता रकम फछ्र्यौट गर्न कम्पनीलाई कडा निर्देशन समेत दिएको छ।

1

Scroll to Top