गण्डकी प्रदेशको पोखरामा सम्पन्न होटल व्यवसायी महासङ्घ नेपालको पाँचौँ महाधिवेशनले टीआर भण्डारी (शंकर) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। महाधिवेशनले भण्डारीको अध्यक्षतामा सिङ्गो कार्यसमितिलाई नै निर्विरोध निर्वाचित गर्दै महासङ्घको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति बनाएको हो।
पर्यटन र होटल क्षेत्रका व्यवसायीहरूको साझा संस्थाको रूपमा रहेको यस महासङ्घमा सर्वसम्मत नेतृत्व चयन हुनुलाई व्यवसायीहरूबीचको एकताका रूपमा हेरिएको छ। नवनिर्वाचित अध्यक्ष भण्डारीले पदभार ग्रहण गर्दै महासङ्घलाई थप पारदर्शी, उत्तरदायी र व्यवसायीहरूको हितमा केन्द्रित संस्था बनाउने अठोट व्यक्त गरेका छन । उनले आफ्नो कार्यकालमा पर्यटन र होटल क्षेत्रलाई थप मर्यादित र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारका लागि पहल गर्ने बताए । साथै, लगानीमैत्री वातावरणको निर्माण र देशभरका साना तथा ठूला होटल व्यवसायीहरूको हकहित संरक्षणलाई आफूले प्राथमिक कार्यसूचीमा राख्ने प्रतिबद्धता समेत उनले जनाएका छन ।
नयाँ कार्यसमितिको आगमनसँगै अबको यात्रा डिजिटल रूपान्तरण, पूर्वाधार विकास र पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ। महासङ्घले निजी क्षेत्र र सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्दै पर्यटन प्रवर्द्धनमा नयाँ उचाइ हासिल गर्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्। यस नेतृत्वले क्षेत्रीय विकासमा योगदान पुर्याउँदै नेपालको पर्यटन उद्योगलाई थप व्यवस्थित र गतिशील बनाउने लक्ष्य राखेको छ।


