Banijya News

काममा ढिलाई भएको भन्दै निर्माण कम्पनीलाई बबई सिँचाइको अल्टिमेटम, ५ करोड ३३ लाख बुझाउन ३५ दिन समय

1
1.1K Shares

बबई सिँचाइ आयोजनाले निर्माण कार्यमा लापरबाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीमाथि कानुनी कारबाहीको प्रक्रियालाई थप कडा बनाएको छ। आयोजनाले बर्दियाको गुलरियास्थित अमन कन्स्ट्रक्सनलाई ठेक्का सम्झौता बमोजिम काम पूरा नगरेको भन्दै क्षतिपूर्ति बापतको ५ करोड ३३ लाख ४२ हजार ९६ रुपैयाँ सरकारी खातामा जम्मा गर्न ३५ दिने अन्तिम चेतावनी (अल्टिमेटम) दिएको हो।

आयोजनाले वैशाख ४ गते एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र उक्त रकम नबुझाएमा सरकारी बाँकी सरह असुलउपर गर्ने गरी कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ। यसअघि पनि आयोजनाले २०८२ चैत २ गते २१ दिनको समय दिएर रकम बुझाउन पत्राचार गरेको थियो, तर कम्पनीले त्यसलाई पूर्ण रूपमा बेवास्ता गरेपछि आयोजनाले यो दोस्रो तथा अन्तिम सूचना निकाल्न बाध्य भएको हो।

आर्थिक वर्ष २०७७/७८ मा आयोजना र उक्त कम्पनीबीच विभिन्न चारवटा ठूला निर्माण कार्यका लागि सम्झौता भएको थियो। सम्झौता भए पनि कार्यक्षेत्रमा उल्लेख्य प्रगति नभएपछि र पटक-पटक ताकेता गर्दा पनि सुधार नआएपछि सार्वजनिक खरिद ऐनको दफा ५९ अनुसार सम्झौता रद्द गरिएको थियो।

आयोजनाले सम्झौता रद्द गरी कम्पनीलाई कालो सूचीमा राख्न गरेको निर्णय विरुद्ध निर्माण व्यवसायीले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर, अदालतले आयोजनाकै पक्षमा फैसला सुनाउँदै रिट खारेज गरिदिएपछि निर्माण कम्पनीबाट थप लागत र क्षतिपूर्ति असुल गर्ने कानुनी बाटो खुलेको हो। अबको ३५ दिनभित्र निर्माण कम्पनीले तोकिएको बैंक खातामा रकम जम्मा गरी सोको सक्कल भौचर आयोजनामा पेस नगरेमा, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बमोजिम कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमार्फत जायजेथाबाट समेत असुलउपर गर्ने प्रक्रिया अगाडि बढाइने आयोजनाले स्पष्ट पारेको छ।

1

Scroll to Top