Banijya News

पथलैया–हेटौँडा–नारायणघाट सडक विस्तारका लागि २८५ मिलियन डलर लगानी गरिँदै

1
1.1K Shares

पूर्व–पश्चिम राजमार्गको मेरुदण्ड मानिने पथलैया–हेटौँडा–नारायणघाट सडक खण्डलाई अत्याधुनिक र ‘स्मार्ट’ स्वरूपमा विस्तार गर्ने कार्यले अब औपचारिक रूप लिएको छ। सरकारले १०० किलोमिटर लामो यो व्यस्त व्यापारिक मार्गलाई चार लेनमा स्तरोन्नति गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन सार्वजनिक गर्दै निर्माणको निर्णायक चरणमा प्रवेश गरेको हो।

एसियाली विकास बैंक (एडीबी) को ठुलो आर्थिक लगानी रहने यो परियोजना केवल सडक विस्तार मात्र नभई नेपालको भौतिक पूर्वाधार निर्माणमा ‘गुणस्तर र प्रविधि’ को नयाँ मानक स्थापित गर्ने एउटा रणनीतिक योजना समेत हो ।

आयोजना निर्देशनालय (एडीबी) ले यसपटक ठेक्का प्रक्रियामा आमूल परिवर्तन गर्दै ‘क्वालिटी एण्ड कस्ट बेस्ड सेलेक्सन’ पद्धति लागू गर्ने भएको छ। विगतमा ‘सबैभन्दा सस्तो’ बोलपत्रदातालाई ठेक्का दिँदा आयोजनाहरू अलपत्र पर्ने र गुणस्तरहीन हुने समस्या दोहोरिएपछि, अब ठेकेदारको ‘मेरिट’ जाँचिनेछ।

निर्देशनालयका प्रमुख चुडाराज ढकालका अनुसार ठेकेदार छनोट गर्दा ८० प्रतिशत भार प्राविधिक क्षमता, प्रयोग गरिने आ98धुनिक प्रविधि, धूलो–धुवाँ व्यवस्थापनको कार्ययोजना र सुरक्षा मापदण्डलाई दिइनेछ भने रकमलाई केवल २० प्रतिशत मात्र भार दिइनेछ। यसले गर्दा अलि बढी रकम कबोल गरे पनि उत्कृष्ट प्रविधि र सुरक्षाको ग्यारेन्टी गर्ने निर्माण कम्पनीले काम पाउने बाटो खुलेको छ।

परियोजनाको कुल लागत ५४ अर्ब २९ करोड ३६ लाख रुपैयाँ अनुमान गरिएको छ। यसमध्ये एडीबीले ३०५ मिलियन डलरको विशाल वित्तीय प्याकेज स्वीकृत गरिसकेको छ। जसमा २८५ मिलियन डलर सहुलियतपूर्ण ऋण र २० मिलियन डलर (करिब ३ अर्ब रुपैयाँ) सिधै अनुदानका रूपमा रहनेछ। नेपालले प्राप्त गर्ने यो ऋणको ब्याजदर निकै आकर्षक छ; सुरुको ८ वर्षको ‘ग्रेस पिरियड’मा वार्षिक १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत मात्र ब्याज लाग्नेछ।

यो सहुलियतले मुलुकको ऋण भारमा न्यून चाप पार्दै ठुलो पूर्वाधार तयार गर्न सहयोग पुग्ने देखिन्छ। आगामी एक महिनाभित्र विश्वव्यापी बोलपत्र आह्वान गरी सन् २०२६ बाट निर्माण सुरु गर्ने र ३ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो सडक खण्ड पर्सा राष्ट्रिय निकुञ्ज र बरन्डाभार जैविक मार्ग जस्तो पारिस्थितिकीय प्रणालीका दृष्टिले अति संवेदनशील क्षेत्र भएर जाने भएकाले यसलाई ‘पारिस्थितिकीमैत्री’ बनाइनेछ।

निकुञ्ज क्षेत्रमा वन्यजन्तुको निर्वाध आवतजावत सुनिश्चित गर्न ४ हजार २ मिटर लामो ‘भायाडक्ट’ (आकाशे सडक) निर्माण गरिनेछ। यसका लागि एडीबीले प्रदान गरेको ३ अर्ब रुपैयाँ अनुदानको मुख्य हिस्सा खर्च हुनेछ। यसबाहेक निकुञ्ज र वन क्षेत्रमा २१ वटा ‘अन्डरपास’ (वन्यजन्तु क्रसिङ) र रुखमा बस्ने जीवजन्तुका लागि २४ वटा ‘क्यानोपी ब्रिज’ बनाइनेछ, जसले नेपालको सडक इतिहासमा पहिलो पटक सडक दुर्घटनामा हुने वन्यजन्तुको मृत्युलाई शून्यमा झार्ने लक्ष्य राखेको छ।

सडकको डिजाइन ठाउँको आवश्यकता अनुसार वैज्ञानिक ढङ्गले तय गरिएको छ। सहरी क्षेत्रमा ५० मिटर चौडाइको सडक बन्नेछ भने अर्धसहरीमा ३७.४ मिटर र वन क्षेत्रमा वातावरणीय क्षति कम गर्न २४ मिटर कायम गरिनेछ। आयोजना अन्तर्गत साविकका २२ वटा पुललाई विस्तार र मर्मत गरिनेछ भने १९ वटा नयाँ अत्याधुनिक पुलहरू थपिनेछन्।

पैदलयात्रीको सुरक्षालाई उच्च प्राथमिकता दिँदै ५ वटा ओभरहेड ब्रिज, १२ वटा अन्डरपास र ७६ स्थानमा ‘स्मार्ट’ जेब्रा क्रसिङको व्यवस्था गरिनेछ। यसले सडकमा सवारीको गति मात्र बढाउने छैन, सडक सुरक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनेछ।

विस्तारका क्रममा केही ठुला चुनौतीहरू पनि छन्। करिब २३ हजार ३२६ रुखहरू काट्नुपर्ने देखिएको छ, जसको शोधभर्नाका लागि १ः१० को अनुपातमा वृक्षरोपण गर्न २२ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, हेटौंडा बजार बाहेकका क्षेत्रमा ४०३ निजी संरचनाहरू प्रभावित हुनेछन्, जसमध्ये २७२ संरचना पूर्ण रूपमा विस्थापित हुनेछन्।

प्रभावित परिवारलाई उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्था सडक विभागले गर्नेछ। हेटौंडा बजारको विवादका सम्बन्धमा स्थानीयको पहिचान जोगाउँदै ‘बाइपास’ वा उपलब्ध चौडाइलाई नै प्रयोग गर्ने विषयमा मध्यमार्गी विकल्पबारे अध्ययन भइरहेको छ।

यो आयोजना सम्पन्न भएपछि पथलैयादेखि नारायणघाटसम्मको यात्रा समय करिब १ घण्टाले छोटिनेछ। यसले इन्धन खपत र सवारी मर्मत खर्चमा वार्षिक अर्बौँ रुपैयाँ जोगाउने मात्र नभई, नेपालको व्यापारिक पारवहनलाई समेत नयाँ उचाइमा पुर्‍याउने निश्चित छ।

1

Scroll to Top