नेपाल बिस्कुट उत्पादक संघले सीमा नाकामा सरकारले बढाएको निगरानी र अवैध आयात नियन्त्रणका लागि चालेका कदमहरूको स्वागत गर्दै यसलाई स्वदेशी उद्योग संरक्षणको दिशामा एक महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको छ। संघले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो दृढताले संकटोन्मुख अवस्थामा पुगेका नेपाली बिस्कुट उद्योगहरूलाई पुनर्जीवन दिने र मुलुकको उत्पादनमुखी अर्थतन्त्रलाई जगैदेखि बलियो बनाउने विश्वास व्यक्त गरेको छ। विशेष गरी सीमावर्ती क्षेत्रबाट हुने अनधिकृत र कर छलीका आयातले नेपाली उत्पादनको बजार संकुचित बनाइरहेको समयमा आएको यो नीतिले उद्योगीहरूमा नयाँ उत्साह थपेको छ।
संघले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा स्थापित कुल ४० बिस्कुट उद्योगमध्ये हाल १७ वटा मात्र सञ्चालनमा रहनु र २३ वटा उद्योग बन्द हुनुले यो व्यवसाय कति ठूलो जोखिममा छ भन्ने कुरालाई देखाउँछ । वार्षिक करिब १,५०० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने यस क्षेत्रमा वार्षिक ६०० करोड रुपैयाँ बराबरको बिस्कुट अवैध बाटोबाट भित्रिने गरेको अनुमान छ। कच्चा पदार्थ आयात गर्दा भन्सार र करको दायरामा बाँधिनुपर्ने तर छिमेकी मुलुकबाट तयार बिस्कुट बिनाकुनै अवरोध र कर भित्रिँदा स्वदेशी उद्योगहरूले अस्वस्थ प्रतिस्पर्धा झेल्नु परिरहेको थियो। सरकारको पछिल्लो सक्रियताले यो असन्तुलनलाई चिर्दै उद्योग, रोजगारी र राजस्व तीनै पक्षमा सकारात्मक प्रभाव पार्ने संघको ठहर छ।
यदि अवैध आयातलाई पूर्ण रूपमा रोक्न सकिएमा राज्यकोषमा समेत उल्लेख्य योगदान पुग्ने देखिन्छ। संघका अनुसार हाल उद्योगहरूले सरकारलाई तिर्दै आएको करिब २०० करोड रुपैयाँको प्रत्यक्ष कर वृद्धि भई ३०० करोड रुपैयाँ पुग्ने र थप ५,००० भन्दा बढी युवाहरूलाई स्वदेशमै सम्मानजनक रोजगारी प्रदान गर्न सकिने आधार तय हुनेछ।
विगतका अनुभवहरूले पनि सीमामा कडाइ गर्दा नेपाली उत्पादनको माग बढ्ने र बन्द उद्योगहरू पुनः सञ्चालनमा आउने पुष्टि गरिसकेकाले यो नीतिलाई अस्थायी नभई दीर्घकालीन र निरन्तर रूपमा अगाडि बढाउनुपर्नेमा संघले विशेष जोड दिएको छ। यसका साथै, विदेशबाट आयात गरिने सम्पूर्ण वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख हुनुपर्ने र बिक्री गर्दा अनिवार्य बिल जारी गर्नुपर्ने नियमले बजारमा पारदर्शिता ल्याउने विश्वास गरिएको छ।
‘न्यायपूर्ण व्यापार र घरेलु उत्पादनको संरक्षण’ प्रति सरकारले देखाएको यो प्रतिबद्धताले तराई क्षेत्रको बजार विस्तार र राष्ट्रिय अर्थतन्त्रको सबलीकरणमा महत्त्वपूर्ण टेवा पुर्याउनेछ। ‘पहिले नेपाली उत्पादन’ भन्ने साझा अभियानलाई आत्मसात् गर्दै उपभोक्ताहरूलाई स्वदेशी बिस्कुट प्रयोग गर्न र व्यापारीहरूलाई स्थानीय उत्पादनलाई प्राथमिकता दिन संघले अपिल गरेको छ। नेपाली उत्पादनको प्रवर्द्धन गर्नु भनेको अन्ततः देशलाई आत्मनिर्भर बनाउनु र नेपाली किसान तथा मजदुरको भविष्य सुरक्षित गर्नु हो भन्ने सन्देश विज्ञप्तिमा उल्लेख छ।


