Banijya News

सेयर बजारको जोखिम न्यूनीकरण गर्न ‘सिस्टमेटिक ट्रान्सफर प्लान’, असोजदेखि नयाँ सुविधा सुरु हुँदै

1
1.0K Shares

पछिल्लो समय नेपाली लगानीकर्ताहरू माझ ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान’ अर्थात् एसआईपी (SIP) निकै लोकप्रिय बनिसकेको छ। थोरै बचतबाट नियमित लगानी गर्ने बानीको विकास भइरहेका बेला अब बजारमा लगानीलाई थप सुरक्षित र सुझबुझपूर्ण बनाउन अर्को नयाँ वित्तीय औजार ‘सिस्टमेटिक ट्रान्सफर प्लान’ (STP) भित्रिने भएको छ। एनआईसी एशिया क्यापिटलले असोजको पहिलो सातादेखि पहिलो पटक यो सेवा सञ्चालनमा ल्याउने तयारी गरेको हो।

एसटीपी (STP) मुख्यतया म्युचुअल फन्डका लगानीकर्ताहरूका लागि डिजाइन गरिएको यस्तो योजना हो, जसले एउटा फन्डमा रहेको लगानीलाई योजनाबद्ध र नियमित रूपमा अर्को फन्डमा स्थानान्तरण गर्ने सुविधा दिन्छ। यो विशेषगरी दीर्घकालीन रूपमा सम्पत्ति व्यवस्थापन गर्न र बजारको उतारचढावबाट हुने जोखिमलाई न्यूनीकरण गर्न प्रभावकारी मानिन्छ। नेपालमा यसको सुरुवातसँगै लगानीकर्ताले अब एउटै कम्पनी अन्तर्गतका दुई फरक प्रकृतिका फन्डहरूबीच आफ्नो रकमलाई मासिक, त्रैमासिक वा वार्षिक रूपमा सार्न पाउनेछन्।

एनआईसी एशिया क्यापिटलले आफ्नो ‘इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ (ELIS) र ‘डाइनामिक डेप्ट फन्ड’ बीच यो सुविधा सुरु गर्दैछ। सेयर बजारमा आधारित ‘इएलआइएस’ उच्च प्रतिफलको सम्भावना भए पनि जोखिमयुक्त हुन्छ भने ‘डेब्ट फन्ड’ डिबेन्चरमा आधारित हुने भएकाले स्थिर र सुरक्षित मानिन्छ। यदि कुनै लगानीकर्तालाई बजार बढ्दा इक्विटी फन्डबाट भएको नाफा सुरक्षित राख्न मन लागेमा उसले एसटीपी मार्फत निश्चित रकम नियमित रूपमा डेब्ट फन्डमा सार्न सक्छ। त्यसैगरी, बजार घटेको बेला सुरक्षित फन्डबाट बिस्तारै इक्विटी फन्डमा रकम सारेर सस्तो मूल्यमा ईकाईहरू थप्न पनि यसले मद्दत गर्छ।

उदाहरणका लागि, यदि कुनै लगानीकर्ताको ‘इएलआइएस’ मा १ लाख रुपैयाँ छ र उसले बजारमा जोखिम बढ्ने महसुस गरे भने, एसटीपी सुविधा प्रयोग गरी उक्त रकमको निश्चित हिस्सा नियमित किस्तामा ‘डाइनामिक डेब्ट फन्ड’ मा स्थानान्तरण गर्न सक्नेछन्। यसका लागि लगानीकर्ताले दुवै म्युचुअल फन्डमा दर्ता भएको हुनुपर्नेछ। क्यापिटलका सूचना अधिकारी दामोदर रायमाझीका अनुसार, यो योजनाले लगानीकर्तालाई एकैपटक ठूलो जोखिम लिनबाट बचाउँछ र स्थिर आम्दानी सुनिश्चित गर्न सहयोग गर्छ।

हाललाई एनआईसी एशिया क्यापिटलले मात्र यो सुविधा सुरु गर्न लागे पनि भविष्यमा अन्य मर्चेन्ट बैंकहरूले पनि यसलाई विस्तार गर्ने सम्भावना छ। लगानीकर्ताले आफ्नो इच्छा अनुसार सबै वा केही निश्चित ईकाईहरू मात्र पनि ट्रान्सफर गर्न सक्नेछन्, जसका लागि कुनै निश्चित समयावधिको बन्देज रहने छैन। यसले नेपाली पुँजी बजारमा लगानीको नयाँ संस्कृति विकास गर्ने र साना लगानीकर्ताको सम्पत्ति सुरक्षामा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

1

Scroll to Top