काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्दै आएको महानगर यातायातले चालकहरूबाट लिने दैनिक भाडा (लेभी) मा एकैपटक २ हजार ५ सय रुपैयाँ वृद्धि गरेको छ। यसअघि प्रतिदिन १० हजार ५ सय रुपैयाँ बुझाउँदै आएका चालकहरूले अब कम्पनीलाई १३ हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ। कम्पनीका निर्देशक केशव नेपालका अनुसार, प्रतिबस डेढ करोड रुपैयाँसम्म लगानी भएको र पेट्रोलियम बसको भाडा बढेसँगै विद्युतीय बसमा यात्रुको चाप उच्च रहेकाले लगानी उठाउन र बैंकको किस्ता तिर्न यो निर्णय लिइएको हो।
कम्पनीले कतिपय दिनमा बसको कमाइ २० हजारसम्म पुग्ने गरेको दाबी गर्दै चालकहरूलाई निश्चित तलबमा काम गर्न आग्रह गर्दा समेत नमानेका कारण कमाइको आधारमा भाडा बढाइएको स्पष्ट पारेको छ। अर्कातर्फ, कम्पनीको यो निर्णयले चालक र सहचालकहरू भने निकै मर्कामा परेका छन्। दैनिक १३ हजार रुपैयाँ बुझाउनुपर्दा आफ्नो पारिश्रमिक र खाना खर्च समेत नबच्ने गुनासो उनीहरूको छ। कम्पनीले भाडा तिर्न नसके अर्को चालक खोज्ने दबाब दिएका कारण बाध्य भएर काम गरिरहेको बताउँदै चालकहरूले यस्तै अवस्था रहे काम छाड्ने चेतावनी दिएका छन्।
यसैबीच, चालकहरूको पुरानो जरिवानाका कारण गाडीको कागजात नवीकरणमा समस्या देखिएको र कम्पनीले बढी लेभी मागेपछि सहचालकहरूले यात्रुसँग तोकिएको भन्दा बढी भाडा उठाउन थालेको समेत पाइएको छ। आधिकारिक रूपमा विद्युतीय बसको भाडा नबढे पनि कम्पनीको आन्तरिक लेभी वृद्धिको मार अन्ततः मजदुर र यात्रुमा सरेको देखिन्छ।


