भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्चमा कटौती गर्दै प्रशासनिक मितव्ययिता अपनाउन एक महत्त्वपूर्ण कदम चालेको छ। मन्त्रालय र यस मातहतका निकायहरूले अबदेखि आफ्ना औपचारिक कार्यक्रमहरू होटल वा महँगा रिसोर्टमा आयोजना गर्न नपाउने भएका हुन्।
मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले जारी गरेको पछिल्लो निर्देशन अनुसार, अबका सबै बैठक, गोष्ठी, तालिम तथा सेमिनारहरू अनिवार्य रूपमा कार्यालयकै सभाहल वा सरकारी संरचनाभित्र रहेका हलहरूमा सञ्चालन गर्नुपर्नेछ। सरकारी कोषको अनावश्यक खर्च रोक्न र स्रोतसाधनको अधिकतम सदुपयोग गर्ने उद्देश्यले यो परिपत्र जारी गरिएको हो।
यो निर्णयसँगै मन्त्रालय मातहतका सबै विभाग, आयोग, प्राधिकरण र कार्यालयहरूलाई आफ्नै परिसरमा उपलब्ध बैठक कक्षहरू प्रयोग गर्न सूचित गरिएको छ। खर्चलाई उपलब्धिमूलक बनाउने सरकारको नीति अनुरूप यो कडा नियम लागु गरिएको मन्त्रालयको भनाइ छ।


