Banijya News

चिया निर्यातमा भारतीय अवरोध हटाउन कूटनीतिक पहलको माग

1
1.1K Shares

नेपालले ३०औँ राष्ट्रिय चिया दिवस मनाइरहँदा चिया क्षेत्रमा खुसीभन्दा बढी चिन्ता र अन्योल छाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले चिया क्षेत्रमा लगानी बढाउने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने सरकारी प्रतिबद्धता जनाए पनि चिया किसान र निर्यातकर्ताहरू भने भारतले हालै लागु गरेको नयाँ र कठोर व्यापारिक नियमका कारण त्रसित छन्। छिमेकी मुलुक भारतले आगामी मे १ देखि लागु हुने गरी चिया आयातमा अत्यन्तै झन्झटिलो र खर्चिलो मापदण्ड कार्यान्वयन गर्ने घोषणा गरेपछि नेपाली चियाको भविष्यमाथि गम्भीर प्रश्न उठेको छ।

‘टी बोर्ड इन्डिया’ ले जारी गरेको नयाँ व्यवस्थाअनुसार अब भारत प्रवेश गर्ने चियाको प्रत्येक खेप (गाडी) को अनिवार्य ल्याब परीक्षण गर्नुपर्नेछ। यसअघि नमुना परीक्षणका आधारमा निर्यात हुँदै आएकोमा अब हरेक कन्टेनरको परीक्षण प्रतिवेदन नआउन्जेल करिब १५ देखि २० दिनसम्म चियालाई सीमावर्ती गोदाममा राख्नुपर्ने प्रावधान ल्याइएको छ। यस प्रक्रियाका लागि प्रति खेप ११ हजार भारु भन्दा बढी शुल्क र अतिरिक्त कर तिर्नुपर्ने व्यवस्थाले निर्यातको लागत उल्लेख्य बढ्ने निश्चित छ। सीमा क्षेत्रमा उचित भण्डारणको अभाव र खुला आकाशमुनि चिया रहँदा यसको गुणस्तर र स्वाद बिग्रने जोखिम समेत बढेको छ।

नेपालको कुल चिया निर्यातको झण्डै ८६ प्रतिशत हिस्सा भारतले मात्र ओगट्ने गरेकाले यो नयाँ नियम नेपाली चियाका लागि एक प्रकारको ‘गैर-भन्सार अवरोध’ सावित भएको व्यवसायीहरूको ठहर छ। भारतले आफ्नो दार्जिलिङ चियाको ब्रान्ड संरक्षण गर्ने उद्देश्यले सस्तो नेपाली चियाको प्रवेश रोक्न यस्तो रणनीति अख्तियार गरेको बुझिएको छ। भारतीय उद्योगीहरूले नेपाली चियालाई आफ्नो चियामा मिसावट गरेको आरोप लगाउँदै आएका छन्, जसले गर्दा भारतीय खरिदकर्ताहरू समेत नेपाली चिया खरिद गर्न हच्किन थालेका छन्।

यो समस्या केवल प्राविधिक मात्र नभई व्यापारिक र कूटनीतिक प्रकृतिको भएकाले यसको समाधान उच्च तहबाट खोजिनु आवश्यक छ। नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने परीक्षणलाई भारतले मान्यता दिने वातावरण बनाउन सके नाकामा हुने झन्झट अन्त्य हुने व्यवसायीहरूको विश्वास छ। करिब ६० हजार प्रत्यक्ष रोजगारी र ४ अर्ब ५९ करोड रुपैयाँको वैदेशिक मुद्रा आर्जन गर्ने यो महत्वपूर्ण क्षेत्रलाई जोगाउन कृषि तथा परराष्ट्र मन्त्रालयले तत्काल भारतीय पक्षसँग कूटनीतिक संवाद सुरु गर्नुपर्ने देखिन्छ। चिया दिवसको औपचारिक शुभकामनाभन्दा पनि अहिले किसानलाई भारतको यो अघोषित नाकाबन्दी जस्तै देखिने नीतिको ठोस समाधान चाहिएको छ।

1

Scroll to Top