Banijya News

आगामी शुक्रबारदेखि काठमाडौंका सुकुमवासी बस्तीमा डोजर चल्ने

1
1.1K Shares

काठमाडौंका नदी किनारमा रहेका सुकुमवासी बस्तीहरू हटाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले कडा कदम चालेको छ। प्रशासनले आगामी वैशाख १८ गते बिहान ७ बजेदेखि जिल्लाभरका सबै अनधिकृत बस्तीहरूमा एकैसाथ डोजर चलाएर खाली गराउने घोषणा गरेको हो। लामो समयदेखि सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी बसेका यी बस्तीहरूलाई मानवीय उद्धार र विपद्को जोखिम न्यूनीकरणका लागि हटाउन लागिएको विज्ञप्तिमा उल्लेख छ। यस प्रक्रियालाई व्यवस्थित बनाउन प्रशासनले स्थानीय बासिन्दाका लागि १३ बुँदे विशेष निर्देशन समेत जारी गरेको छ।

प्रशासनले बस्तीमा रहेका बिरामी, वृद्धवृद्धा, गर्भवती र बालबालिकाहरूलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। उद्धार कार्यमा सहयोग पुऱ्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीलाई परिचालन गरिनेछ भने अस्पताल जानुपर्नेहरूका लागि एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ। वास्तविक भूमिहीनहरूको पहिचान गरी उनीहरूका लागि सरकारले तत्काल बस्ने व्यवस्था गर्ने र दीर्घकालीन समाधान खोज्ने आश्वासन दिइएको छ। यद्यपि, ‘नक्कली’ वा अवास्तविक सुकुमवासीलाई पहिचान गरी कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

बासिन्दाहरूलाई वैशाख १७ गते साँझसम्म आफ्ना व्यक्तिगत मालसामान, लत्ताकपडा र पशुपक्षीसहित घरटहरा पूर्ण रूपमा खाली गर्न समयसीमा तोकिएको छ। प्रशासनले सरकारी अभियानमा सहयोग गर्नु नागरिकको कर्तव्य भएको स्मरण गराउँदै, सूचना अटेर गरेर बस्दा हुने भौतिक क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने स्पष्ट पारेको छ। सरकारले बालबालिकाको शिक्षाको प्रबन्ध गर्ने र संविधान प्रदत्त हक अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि हल्ला वा अफवाहको पछाडि नलाग्न आग्रह गरेको छ।

1

Scroll to Top