मकवानपुरका दुग्ध उत्पादक किसानहरू अहिले गम्भीर आर्थिक सङ्कटको भुमरीमा फसेका छन्। लामो समयदेखि आफ्नो मिहिनेतको कमाइ नपाउँदा उनीहरूको दैनिकी नै कष्टकर बन्न पुगेको छ। जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार मकवानपुरका ११ वटा डेरी उद्योगले किसानलाई तिर्नुपर्ने १४ करोड ३५ लाखभन्दा बढी रुपैयाँको भुक्तानी रोकिदिएका छन्।
गाईवस्तुको स्याहारसुसार र बिहान–बेलुकाको कठोर परिश्रमबाट उत्पादित दुधको मूल्य नपाउँदा ११ हजारभन्दा बढी किसानहरूको जीविकोपार्जन नै धरापमा परेको छ। यसले गर्दा किसानहरू ऋणको भारी बोक्न बाध्य भएका छन् र कतिपयले त पशुपालन नै छाड्ने मनस्थिति बनाइसकेका छन्। भुक्तानी नपाउने समस्यामा दुई ठूला उद्योगहरूको हिस्सा सबैभन्दा ठुलो रहेको छ।
संघका व्यवस्थापक दामोदर अधिकारीका अनुसार, शुभ डेरी इन्डष्ट्रिज प्रा।लि। एक्लैले किसानलाई ६ करोड ७० लाखभन्दा बढी भुक्तानी गर्न बाँकी छ भने गायत्री डेरी इन्डष्ट्रिज प्रा।लि।ले ४ करोड ४९ लाखभन्दा बढी रकम रोकेर राखेको छ। बाँकी रकम स्यार्सेकालिका डेरी, कल्पवृक्ष डेरी, पवित्र मिल्क एण्ड फुड्स, एस।के डेरी उद्योगलगायत अन्य साना–ठूला उद्योगहरूले पनि तिर्न बाँकी रहेको तथ्याङ्क छ। विशेषगरी २०८२ जेठ १६ गतेदेखि रोकिएको यो भुक्तानीले किसानहरूमाथि ठूलो अन्याय गरेको छ। बजारमा उपभोक्ताबाट नगदमै दुग्धजन्य पदार्थ बिक्री भए पनि किसानहरूलाई उधारोमा राख्ने प्रवृत्ति बढेको छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलका अनुसार, यो अवस्थाले किसानहरूलाई गम्भीर मानसिक तनाव दिएको छ। एकातिर उत्पादन लागत बढ्दो छ भने अर्कोतिर महिनौँसम्म भुक्तानी नआउँदा पशुको आहारा किन्ने र औषधोपचार गर्ने रकमसमेत किसानसँग छैन। किसानहरूको यही बाध्यताको फाइदा उठाउँदै उद्योगीहरूले उनीहरूको पसिनाको मूल्य शोषण गरिरहेको आरोप लागेको छ । किसानहरू ऋण लिन बाध्य छन् भने कोही आफ्नो आयस्रोतको माध्यम बनेका गाईभैँसी नै सस्तोमा बेच्ने तयारीमा छन्, जसले समग्र दुग्ध व्यवसायलाई नै गम्भीर असर पुर्याएको छ।
किसानको दयनीय अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले एउटा महत्वपूर्ण सर्वपक्षीय छलफल आयोजना गरेको थियो। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा भएको बैठकले उद्योगीहरूलाई असार मसान्तभित्र कुल बक्यौताको ६५ प्रतिशत रकम अनिवार्य रूपमा भुक्तानी गर्न निर्देशन दिएको छ। त्यसपछिको बाँकी रकम भने असोज मसान्तभित्र पूर्ण रूपमा चुक्ता गरिसक्नुपर्ने समयसीमा तोकिएको छ। प्रशासनले चेतावनी दिँदै तोकिएको समयभित्र भुक्तानी नभएमा कानुनी प्रक्रियाअनुसार कडा कारबाही अघि बढाउने स्पष्ट पारेको छ। सरकार उद्योग प्रवर्द्धनमा सकारात्मक भए पनि किसानको हकहितसँग कुनै सम्झौता नहुने अधिकारीले बताएका छन्।
भुक्तानी रोकिएका उद्योगीहरूले भने आफूहरूको नियत नभई बाध्यता रहेको दाबी गरेका छन्। गायत्री डेरीका सञ्चालक सृजन कोइरालाका अनुसार, पछिल्ला तीन वर्षदेखि उद्योग निरन्तर घाटामा सञ्चालन भइरहेको छ। नौनी उत्पादनको लागत प्रतिकेजी ८३० रुपैयाँ पर्ने भए पनि बजारमा ७०० रुपैयाँभन्दा बढीमा बेच्न नसकिएको अवस्था छ।
त्यस्तै, शुभ डेरीका प्रमुख ज्ञानराज लामाले पनि अन्तर्राष्ट्रिय बजारको अवस्था र छुर्पीको लामो उत्पादन चक्रका कारण नगद प्रवाहमा समस्या भएको बताएका छन्। उनले छुर्पीको उत्पादन चक्र नै ९० दिनको हुने र इरान–इजरायल युद्ध जस्ता अन्तर्राष्ट्रिय घटनाक्रमले बजारमा प्रभाव पारेको कारण नगद व्यवस्थापनमा चुनौती भएको बताएका छन्। यसबाहेक विगत १५ वर्षमा भोगेको नाकाबन्दी, कोरोना महामारी र आर्थिक मन्दीको प्रभावले उद्योगहरू गम्भीर व्यापार घाटा व्यहोरिरहेको उद्योगीहरूको भनाइ छ।


