स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशैभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न गरेको छ। यसैक्रममा, कम्पनीले वैशाख २१ र २२ गते आफ्नो प्रधान कार्यालय परिसरमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको थियो भने इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल र युरिक एसिडको जाँच गरिएको थियो। उक्त शिविरबाट ६०१ जनाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेको कम्पनीले जनाएको छ।
यसका साथै, ‘किनकि, जीवन अमूल्य छ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै कम्पनीले सातै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। यस अभियानअन्तर्गत कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सहरहरूबाट गरी कुल ५०५ पिन्ट रगत संकलन भएको छ। नेपालीको सुरक्षित र सुनिश्चित भविष्य निर्माणमा अग्रणी भूमिका खेल्दै आएको नेपाल लाइफले आफ्ना यस्तै सामाजिक तथा जनहितकारी गतिविधिहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ।


