Banijya News

जीवन बीमा कम्पनीहरुको लगानी नौ खर्ब हाराहारीमा, कुन क्षेत्रमा कति ?

1
1.0K Shares

जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा पौने ९ खर्ब रुपैयाँ बढी लगानी गरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार१४ वटा जीवन बीमकले ८ खर्ब ७५ अर्ब २४ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ७ खर्ब ५७ अर्ब ३६ करोड २ लाख रुपैयाँ लगानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको लगानी १५.५६ प्रतिशतले बढेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार, नेपाल लाइफको लगानी सर्वाधिक देखिएको छ । यो कम्पनीले विभिन्न क्षेत्रमा गरी २ खर्ब ४५ अर्ब ९० करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै, चालू आवको तेस्रो त्रैमासम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेसनको विभिन्न क्षेत्रमा १ खर्ब २८ अर्ब ९६ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । यही अवधिमा हिमालयन लाइफले ८७ अर्ब ८३ करोड २३ लाख रुपैयाँ र नेसनल लाइफले ७८ अर्ब ४८ करोड ४३ लाख रुपैयाँ लगानी गरेका छन् ।

यसैगरी राष्ट्रिय बीमा कम्पनीले ६६ अर्ब ३५ करोड २४ लाख रुपैयाँ लगानी विभिन्न क्षेत्रमा गरेको छ । उता, एसियन लाइफले ५१ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४६ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ, मेट लाइफले ३४ अर्ब ६२ करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफले २८ अर्ब ९ करोड ५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २२ अर्ब ८० करोड १५ लाख रुपैयाँ, आइएमई लाइफले २० अर्ब ७१ करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २० अर्ब ४५ करोड ८८ लाख रुपैयाँ र सन नेपाल लाइफले १६ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले लगानी गरेकामध्ये सबैभन्दा बढी वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा रहेको छ । बैंकको मुद्दतीमा ५ खर्ब ४२ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७७ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ लगानी रहेको छ । विकास बैंकहरुको मुद्दति निक्षेपमा ४५ अर्ब १६ करोड ९८ लाख रुपैयाँ लगानी गरेका बीमा कम्पनीहरुले फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ६ अर्ब १ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन् ।

यसैगरी, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ६९ अर्ब ७४ करोड ८० लाख रुपैयाँ लगानी रहेको छ भने पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ लगानी गरेका बीमा कम्पनीहरुले ती कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १८ अर्ब ९७ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् । त्यसो त, घरजग्गामा समेत ७५ करोड ८१ लाख रुपैयाँ लगानी रहेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार, कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य आदिमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । उता, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १० अर्ब ३० करोड ९९ लाख रुपैयाँ लगानी गरेका कम्पनीहरुले इन्भेस्टमेन्ट कम्पनीको शेयरमा ३ अर्ब १८ करोड ३२ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, अन्य संस्थापक शेयरमा १७ अर्ब १६ करोड २ लाख रुपैयाँ, सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा १ अर्ब ६० करोड ९६ लाख रुपैयाँ र अन्य लगानीमा समेत १४ अर्ब ९० करोड ९८ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

1

Scroll to Top