नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा गरिएको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया अघि बढाएको हो ।
निरीक्षणका क्रममा हिमालयन बैंकले सीमित ऋणीहरूलाई निर्धारित प्रिमियम दरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकमलाई बक्यौता ब्याज तथा साँवा भुक्तानीमा प्रयोग गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण÷पुनरसंरचना गरेको भन्दै केन्द्रीय बैंकले कारबाही गरेको हो ।
पुनरतालिकिकरण/पुनरसंरचना गरेको कर्जा मध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनरतालिकिकरण÷पुनरसंरचना गरेको कर्जामा वर्गीकरण गरी सो बाहेकको साँवा रकमलाई असल कर्जामा नै वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हो ।
यता, बैंकले केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि बढाएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै कारबाही गरेको हो ।
केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८१ मा रहेको व्यवस्थाहरू उल्लंघन भएको देखिएको भन्दै राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।
यस्तै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा १ (ख) बमोजिम यस बैंकबाट जारी निर्देशनहरुको उल्लंघन गरेबापत हिमालयन बैंक लिमिटेडका सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा समेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।


