Banijya News

नबिल बैंकको एनबैंक एपबाटै भारतमा पैसा पठाउन सकिने

1
1.0K Shares

नबिल बैंकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल रकम स्थानान्तरण गर्न सकिने गरी ‘नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन-टु-पर्सन रेमिटेन्स’ सेवाको सुरुवात गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस  सँगको रणनीतिक सहकार्यमा सञ्चालनमा ल्याइएको यो अत्याधुनिक डिजिटल भुक्तानी सेवाले दुई देशबीचको वित्तीय सामीप्यतालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘एनबैंक’ मार्फत भारतमा रहेका आफ्ना परिवार तथा आफन्तलाई तुरुन्तै रकम पठाउन सक्नेछन्। त्यसैगरी, नेपाल र भारत दुवै देशमा रहेका नागरिकहरूले नेपालमा रहेका नबिल बैंकका ग्राहकहरूलाई झन्झटिलो कागजी प्रक्रियाबिना सेकेन्डभरमै सुरक्षित रूपमा रकम पठाउन सक्ने व्यवस्था मिलाइएको छ।

नियामक निकायको मार्गनिर्देशन र सुरक्षालाई ध्यानमा राख्दै बैंकले यस सेवामा निश्चित सीमा समेत तोकेको छ, जसअनुसार नेपालबाट भारततर्फ दैनिक अधिकतम १५ हजार भारु र मासिक १ लाख भारुसम्म पठाउन सकिनेछ भने भारतबाट नेपालतर्फ दैनिक अधिकतम २ लाख भारुसम्म (जसमा कुनै मासिक सीमा लागू हुने छैन) रकम पठाउन सकिनेछ। सीमापार बैंकिङलाई सरल र सुलभ बनाउने यो कदम डिजिटल साक्षरता र वित्तीय समावेशीकरणका लागि कोशेढुङ्गा सावित हुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताएका छन्।

विगत चार दशकदेखि दिगो र प्रविधिमैत्री बैंकिङको नेतृत्व गरिरहेको नबिल बैंकले हाल देशभर २६६ शाखा र ३१८ एटीएमको बलियो सञ्जालमार्फत २५ लाखभन्दा बढी ग्राहकहरूलाई परिष्कृत सेवा प्रदान गर्दै आएको छ र यो नयाँ डिजिटल प्रयासले बैंकको बजार साखलाई अझ उच्च बनाउने देखिन्छ।

1

Scroll to Top