गत भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण रसुवाको टिमुरेस्थित नबिल बैंकको शाखा कार्यालय पूर्ण रूपमा क्षति भएको थियो। बाढीले भौतिक संरचनामा क्षति पुर्याएपछि टिमुरेबाट नियमित सेवा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको हो।
शाखामा पुगेको क्षतिलाई ध्यानमा राख्दै बैंकले सेवा निरन्तरताका लागि टिमुरे शाखालाई धुन्चेस्थित शाखामा समायोजन गर्ने निर्णय गरेको छ। यससँगै अब टिमुरे शाखाका सम्पूर्ण ग्राहकहरूले बैंकिङ कारोबार तथा सेवाका लागि धुन्चे जानुपर्ने भएको छ।
बैंकले आगामी असोज १ गतेदेखि लागू हुने गरी धुन्चे शाखाबाटै आफ्ना सम्पूर्ण ग्राहकहरूलाई सहज रूपमा सेवा लिन आग्रह गरेको छ। टिमुरेका ग्राहकलाई पर्ने असुविधाप्रति ध्यान दिँदै धुन्चेबाटै नियमित र भरपर्दो बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ।


