नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक लिमिटेड आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको छ। सन् १९८४ मा नेपालका एकमात्र अर्बपति उद्यमी विनोद चौधरीको परिकल्पना अनुसार अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यसको सुरुवात भएको थियो। स्थापना कालमा मात्र २ वटा शाखा र १४४ कर्मचारीबाट यात्रा सुरु गरेको यस बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ (बैंकिङ र त्योभन्दा धेरै) भन्ने मूल दर्शनलाई आत्मसाथ गर्दै आज देशभर २६४ शाखा, ३१५ एटीएम र १८ वटा एक्सटेन्सन काउन्टरमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। हाल बैंकमा २,४६४ जना दक्ष कर्मचारीहरू कार्यरत छन्।
विगत चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रको आधुनिकिकरण र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा नबिल बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले वित्तीय सूचकहरूमा ऐतिहासिक सफलता हासिल गरेको छ। यस अवधि सम्ममा बैंकले ५८८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४६४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बैंकको कुल सम्पत्ति ७१८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। बैंकको यो बलियो वित्तीय स्थितिले यसलाई नेपालकै सबैभन्दा भरपर्दो र अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित गरेको छ।
नबिल बैंकको लगानी केवल नाफा कमाउनुमा मात्र सीमित नभई मुलुकको उत्पादनशील र दिगो विकासका क्षेत्रहरूमा समेत केन्द्रित छ। अर्थतन्त्रलाई चलायमान बनाउन बैंकले कृषि क्षेत्रमा ५३.३१ अर्ब, ऊर्जा क्षेत्रमा ५१.०६ अर्ब, साना तथा मझौला उद्योगमा ४५.९२ अर्ब र पर्यटन क्षेत्रमा ११.१० अर्ब रुपैयाँ लगानी गरेको छ। यसका साथै, डिजिटल रूपान्तरणलाई उच्च प्राथमिकता दिँदै बैंकले सन् २०२२ मा सार्वजनिक गरेको ‘एनबैंक’ एपमार्फत शतप्रतिशत डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यस एपलाई नेपालकै अग्रणी ‘फाइनान्सियल सुपर एप’ बनाउने लक्ष्यका साथ ग्राहकलाई घरमै बसेर खाता खोल्नेदेखि अन्तर्राष्ट्रिय भुक्तानीसम्मका अत्याधुनिक सुविधाहरू उपलब्ध गराइएको छ।
आफ्नो ४२ वर्षे गौरवमय यात्रामा नबिल बैंकले संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिकतामा समेत नयाँ मानक स्थापित गरेको छ। बैंकले हालसम्म ८ पटक ’सर्वाधिक करदाता’ र १० पटक ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड प्राप्त गर्नुले यसको वित्तीय सुशासनप्रतिको प्रतिबद्धतालाई प्रष्ट पार्छ। ४२ वर्षको अनुभव, बलियो पुँजीगत आधार र अत्याधुनिक प्रविधिलाई साथ लिएर बैंक अब नेपालको आर्थिक रूपान्तरणको अर्को अध्याय लेख्ने तयारीमा छ। आगामी दिनमा दिगो विकास, हरित वित्त र उत्कृष्ट ग्राहक सेवामार्फत सरोकारवालाहरूका लागि दीर्घकालीन मूल्य सिर्जना गर्दै मुलुकको समृद्धिमा अझ सशक्त भूमिका खेल्ने बैंकले अठोट लिएको छ।


