Banijya News

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन प्रदर्शन

1
1.0K Shares

मन्त्रिपरिषद्को हालैको बैठकमा देशका महत्त्वपूर्ण नीतिगत निर्णयहरूसँगै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने एउटा फरक र सकारात्मक दृश्य देखियो। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले स्वदेशी वस्तुको उपभोग बढाउन र सरकारी संस्थानको बजार विस्तार गर्ने सांकेतिक उद्देश्यका साथ प्रधानमन्त्री बालेन्द्र शाहसहित सम्पूर्ण मन्त्रीहरूलाई सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू वितरण गरेकी थिइन्।

प्रधानमन्त्री र मन्त्रीहरूलाई बाँडिएको उक्त उपहार प्याकेटमा डीडीसीद्वारा उत्पादित शुद्ध दूध, केशर दूध, बटर, चिज, दही र पेँडा समावेश थिए। बैठकका क्रममा डीडीसीका उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा व्यावसायिक सुदृढीकरणका विषयमा विशेष छलफल समेत भएको थियो ।

यस अवसरमा मन्त्री चौधरीले नेपाली किसानहरूबाट संकलन गरिने दूधको उचित व्यवस्थापन र बजार सुनिश्चितताका लागि सरकारी तहबाटै बलियो अग्रसरता लिनुपर्ने र डीडीसीलाई थप प्रतिस्पर्धी एवं आत्मनिर्भर संस्था बनाउन सरकारी निकायहरूबीच समन्वय आवश्यक रहेको कुरामा जोड दिइन्।

प्रधानमन्त्री शाहले पनि केही समयअघि आफैं डीडीसीका उत्पादनहरूको प्रचार गर्दै नागरिकहरूलाई स्वदेशी वस्तु प्रयोग गर्न आह्वान गरिसकेका हुनाले, सरकार यसको प्रवर्द्धनमा पूर्ण प्रतिबद्ध रहेको सन्देश दिएका छन्। लामो समयदेखि नेपाली उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानलाई मन्त्रिपरिषद्को यो साथले थप ऊर्जा प्रदान गरेको छ भने सरकारले यसलाई स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा अघि बढाउने रणनीतिका रूपमा लिएको छ।

1

Scroll to Top