विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा व्यावसायिक सञ्चालनको पाँच वर्ष पूरा गरेको छ। यसै अवसरलाई स्मरणीय बनाउन कम्पनीले चालकहरूको अनुभव, स्वतन्त्रता र रोजाइलाई केन्द्रमा राखेर ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ नामक नयाँ ब्रान्ड क्याम्पेन सार्वजनिक गरेको छ। जुनदेखि अगस्ट २०२६ सम्म चल्ने यस अभियानले डिजिटल यातायात क्षेत्रमा कार्यरत चालकहरूको वास्तविक जीवन, चुनौती र अवसरलाई उजागर गर्दै उनीहरूको कार्य समय र आम्दानी व्यवस्थापनको निर्णय क्षमतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गर्नेछ।
नेपालमा सेवा सुरु गरेदेखि नै इनड्राइभले यात्रु र चालकबीच प्रत्यक्ष रूपमा भाडादर तय गर्न सकिने ‘पियर–टु–पियर’ मोडेललाई प्रवद्र्धन गर्दै आएको छ। इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईका अनुसार कम्पनीले चालकहरूका लागि दीर्घकालसम्म विश्वास गर्न सकिने, पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा ध्यान केन्द्रित गरेको छ। यो प्रणालीले चालकहरूलाई यात्रा छनोट र कार्य समय निर्धारणमा स्वायत्तता प्रदान गर्दै उनीहरूको व्यावसायिक सन्तुष्टि र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न सहयोग पुर्याएको छ।
पाँचौँ वार्षिकोत्सवको अवसरमा इनड्राइभले ‘होमकमिङ मिटर’ क्याम्पेनसमेत सुरु गर्ने घोषणा गरेको छ। यस पहलअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केर नेपालमै राइड-हेलिङमार्फत आफ्नो जीवन र जीविकोपार्जन पुनः स्थापित गरेका नेपाली चालकहरूको प्रेरणादायी यात्रालाई सार्वजनिक गरिनेछ। कम्पनीले नेपाललाई दक्षिण एशियाकै रणनीतिक बजारका रूपमा लिँदै स्थानीय आवश्यकता अनुसार सेवामा सुधार, आर्थिक सशक्तीकरण र स्वदेशमै आयआर्जनका सम्भावनालाई उजागर गर्ने प्रतिबद्धता जनाएको छ।


