Banijya News

वरिष्ठ सीए रमेश धिताल लेखामान बोर्डको अध्यक्षमा नियुक्त

1
1.1K Shares

सरकारले नेपाल लेखामान बोर्ड (एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड–एएसबी) को अध्यक्ष पदमा सिन्धुपाल्चोक, चौताराका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सीए) रमेश कुमार धिताललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम देशको लेखाव्यवसाय र वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमन गर्न धिताललाई यो जिम्मेवारी सुम्पेको हो। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले धितालको उच्च विज्ञता र क्षमताकै कारण सरकारले उनलाई बोर्डको नेतृत्वका लागि पूर्ण योग्य देखेर नियुक्त गरेको जानकारी दिएका छन्।

नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय क्षेत्रको परामर्श, जोखिम व्यवस्थापन र एनएफआरएस/आईएफआरएस कार्यान्वयनको क्षेत्रमा २० वर्षभन्दा बढीको गहन अनुभव छ। विश्वको प्रतिष्ठित ‘बिग ४’ मध्येको एक वित्तीय परामर्शदाता कम्पनी ‘अन्स्र्ट एण्ड यंग’ मुम्बईबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका उनले नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, बीमा प्राधिकरण लगायत दर्जनौँ बैंकिङ, बहुराष्ट्रिय कम्पनी तथा एसियाली विकास बैंक  का परियोजनाहरूमा नेतृत्वदायी भूमिका निवाह गरिसकेका छन्। नेपालमा बैंकिङ क्षेत्रको एनएफआरएस, इसीएल र सूचना प्रविधि लेखापरीक्षणलाई परिष्कृत बनाउन उनको उल्लेखनीय योगदान रहेको छ।

शैक्षिक र व्यावसायिक रूपमा अत्यन्त सबल धितालले नेपाल र भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सी  गरेका छन्। साथै, उनीसँग पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए, अमेरिकाको इसाकाबाट सिसा र बेलायतको एसीसीएबाट डिपआईएफआर जस्ता उच्च प्राविधिक योग्यताहरू छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट संघको उपाध्यक्ष र महासचिव भइसकेका धितालले यसअघि लेखामान र लेखापरीक्षणमान बोर्डमा सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन्। हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था को परीक्षा समिति सदस्य रहेका धितालको प्राविधिक विशेषज्ञताले नेपालको वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूसँग जोड्न र बोर्डलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

1

Scroll to Top