Banijya News

सिटिजन्स सदाबहार योजना अब पूर्ण डिजिटल

1
1.0K Shares

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना “सिटिजन्स सदाबहार योजना” मा लगानी गर्न चाहनेहरूका लागि नयाँ र प्रविधिमैत्री ढोका खुलेको छ। योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड र कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संयुक्त रूपमा आजदेखि यस योजनाका लागि विशेष अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा ल्याएका छन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यो प्रणालीको मुख्य उद्देश्य लगानीकर्ताहरूलाई कुनै पनि भौगोलिक सीमा वा कार्यालय समयको झन्झटविना छिटो, छरितो र आधुनिक सेवा प्रदान गर्नु रहेको छ ।

नयाँ डिजिटल प्रणालीको सुरुवातसँगै अब लगानीकर्ताहरूले हप्ताको सातै दिन र २४ सै घण्टा सुरक्षित रूपमा विभिन्न वित्तीय सेवाहरू उपभोग गर्न पाउनेछन्। यस प्लेटफर्ममार्फत ग्राहकहरूले सजिलै अनलाइन साइनअप र लगइन गरी योजनाको इकाई खरिदका लागि आवेदन दिन तथा रकम भुक्तानी गर्न सक्नेछन्।

यसका साथै, व्यवस्थित लगानी योजनामा दर्ता हुन, को किस्ता भुक्तानी गर्न र लाभांश पुनः लगानी योजनामा सिधै आबद्ध हुन सक्ने सुविधा समेत उपलब्ध गराइएको छ, जसले लगानी प्रक्रियालाई अत्यन्तै सरल र पारदर्शी बनाउने विश्वास गरिएको छ।

‘नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच’ पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित सिटिजन्स क्यापिटलले डिजिटल वित्तीय सेवाको विस्तारलाई आफ्नो मुख्य रणनीतिको रूपमा अघि सारेको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको यस संस्थामा कर्मचारी सञ्चय कोष तथा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीहरूको समेत लगानी रहेको छ। हाल अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठको नेतृत्वमा रहेको यस कम्पनीले नयाँ अनलाइन प्रणालीमार्फत पूँजी बजारमा आम नागरिकको सहभागिता उल्लेखनीय रूपमा बढ्ने अपेक्षा राखेको छ।

1

Scroll to Top