नेपालको पूर्वाधार, ऊर्जा र सामाजिक विकासमा सघाउँदै आएको संघीय गणतन्त्र जर्मनीले नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध र विकास साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ। सोही प्रतिबद्धता स्वरूप जर्मनीले आगामी दुई वर्षका लागि नेपाललाई तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहायता उपलब्ध गराउने भएको छ।
मंगलबार राजधानीमा सम्पन्न ‘नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्ता’ का क्रममा जर्मन सरकारले यो सहयोगको घोषणा गरेको हो। यहाँस्थित जर्मन दूतावासका अनुसार दुवै देशले आगामी दिनमा विशेष गरी ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर सहकार्य अघि बढाउने साझा सहमति गरेका छन्।
द्विपक्षीय विकास वार्तामा दुवै देशका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले गरेका थिए भने जर्मन टोलीको नेतृत्व त्यहाँको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रालय की दक्षिण एसिया महाशाखा प्रमुख बार्बरा शेफरले गरेकी थिइन्।
जर्मनीले उपलब्ध गराउने यो सहायता रकम नेपालको चौतर्फी विकासका विभिन्न रणनीतिक क्षेत्रमा परिचालन गरिनेछ। जसअन्तर्गत नवीकरणीय ऊर्जाको प्रवर्द्धन, ऊर्जा दक्षता सुधार र विद्युत् वितरण प्रणालीलाई थप सुदृढ बनाइनेछ। यसका साथै हरित एवं उत्थानशील कृषि विकास, राजस्व क्षेत्रको सुधार, गुणस्तरीय पूर्वाधार निर्माण, लैंगिक समानता कायम गर्ने कार्य, दिगो आर्थिक विकास तथा सर्वसाधारणको वित्तीय पहुँच विस्तार गर्ने जस्ता महत्वपूर्ण आयोजनाहरूमा यो रकम उपयोग हुने जनाइएको छ।


