श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ संज्ञा दिँदै तत्काल संसद्को रेकर्डबाट हटाउन र प्रधानमन्त्री आफैँ उपस्थित भई सच्याउन माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दशकौँदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरूलाई ससम्मान स्वदेश फिर्ता गर्न वा तेस्रो मुलुकमा रहेका परिवारसँग तत्काल पुनर्मिलन गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।
यसैगरी, सांसद राईले रक्षा मन्त्रालयको बजेट छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको र सांसदहरूलाई बजेट पुस्तिका (रेड बुक) समेत उपलब्ध नगराइएको भन्दै कडा आपत्ति जनाएका छन्। देशको संवेदनशील निकायको खर्च विवरण जनप्रतिनिधिबाटै लुकाउनुको नियतमाथि प्रश्न उठाउँदै उनले सभामुखमार्फत सरकारसँग तत्काल जवाफ माग गरे।


