Banijya News

४ अर्बको अवैध क्रिप्टो सञ्जाल चलाउने सागर गिरी प्रहरी फन्दामा

1
1.0K Shares

 

काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–११ का २९ वर्षीय सागर गिरीको नेतृत्वमा ४ अर्ब ३३ करोड ७० लाख ८० हजार रुपैयाँ बराबरको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। विगत ३ वर्षदेखि बाइनान्स, एम.ई.एक्स.सी र ट्रस्ट वालेट जस्ता डिजिटल माध्यम प्रयोग गरी अर्बौँको सञ्जाल चलाउँदै आएका गिरीलाई २०८२ चैत १ मा पक्राउ गरी इन्स्पेक्टर पप्पु दास नेतृत्वको टोलीले ९० दिनसम्म अनुसन्धान गरेको थियो।

अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले असार १ गते १४ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेपछि अदालतको आदेशानुसार मुख्य अभियुक्त गिरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने उनका बाल्यकालका साथी नागार्जुन–८ का प्रमोद धिताल ६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार यस प्रकरणमा जोडिएका अन्य १२ जना प्रतिवादीहरू हाल फरार सूचीमा छन्। प्रहरीको विस्तृत अनुसन्धान अनुसार कुल कारोबारमध्ये सागर र प्रमोदको अकाउन्टबाट मात्रै १ अर्ब ९७ करोड रुपैयाँ बराबरको युएसडीटी को कारोबार भएको पाइएको छ भने बाँकी रकम फरार रहेका अन्य प्रतिवादीहरूको खाताबाट परिचालन गरिएको थियो।

गिरीको घरबाट प्रहरीले १ करोड १६ लाख रुपैयाँ नगद र रकम गन्न प्रयोग गरिने ‘क्यास टेलर मेसिन’ समेत बरामद गरेको छ। बयानका क्रममा गिरीले ुजेनजी आन्दोलनुका बेला बैंकहरूमा लुटपाट र आगजनी भएपछि सुरक्षाका लागि नगद घरमै राखेको र रकम गन्ने मेसिन आमाबुवाको नाममा संचालित ‘नर्सरी खाजा घर तथा रेस्टुरेन्ट’ का लागि खरिद गरेको जिकिर गरेका छन्। क्रिप्टो कारोबारबाट प्राप्त आम्दानी लुकाउन गिरीले स्कोर्पियो गाडी र आमाको नाममा ट्याक्सी ९बागमती प्रदेश–०१–००२ ज ७५७४० खरिद गरी प्रमोद धिताललाई दैनिक ३ हजार ५ सय रुपैयाँ भाडामा चलाउन दिएको समेत खुलेको छ।

यस अवैध सञ्जालमा संलग्न भई हाल फरार रहेका प्रतिवादीहरूमा रुपन्देहीकी निलम गुप्ता, मोरङकी २८ वर्षीया सम्झना चौधरी, बाँकेका २३ वर्षीय विनोद साहु, बाराका ३७ वर्षीय फिरोज अहमद मिया ठकुराई, रुपन्देहीका २७ वर्षीय अक्षय कलवार, झापाका विशाल ठाकुर र काभ्रेका २४ वर्षीय सिद्धार्थ भारती रहेका छन्। त्यस्तै सर्लाहीका २८ वर्षीय पपु साह, गुल्मीका ३० वर्षीय प्रितम कार्की, नवलपरासी पूर्वकी २५ वर्षीया सजिना गिरी, लमजुङका उज्वल गुरुङ र नागार्जुनकी ४८ वर्षीया गंगा गिरी पनि फरार सूचीमा छन्। नेपालमा प्रतिबन्धित अभौतिक मुद्राको प्रयोग र सम्पत्ति शुद्धीकरण ९मनी लाण्डरिङ० सम्बन्धी गम्भीर कसुर अन्तरगत सजाय माग दाबी गरिएका यी फरार अभियुक्तहरूको खोजी कार्यलाई प्रहरीले तीव्र पारेको छ।

1

Scroll to Top