चलचित्र विकास बोर्डले नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको बक्सअफिस कमाइको पछिल्लो विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ प्रणालीमा दर्ता भएअनुसार यही असार ७ गतेसम्म संकलन गरिएको आधिकारिक तथ्याङ्क सोमबार एक सूचनामार्फत सार्वजनिक गरिएको हो।
प्राप्त विवरणअनुसार यस वर्ष प्रदर्शनमा आएका चलचित्रहरूमध्ये अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको चलचित्र ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा अगाडि देखिएको छ। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले वर्ष २०८३ सालका अन्य चलचित्रलाई निकै पछाडि पार्दै घरेलु बजारबाट कुल रु ९ करोड २८ लाख १४ हजार ५०५ आम्दानी गर्न सफल भएको छ भने यस अवधिमा चलचित्रका कुल ३ लाख १५ हजार ७१४ थान टिकट बिक्री भएका छन्।
यो चलचित्रमा स्वस्तिमाका साथै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायतका कलाकारको अभिनय रहेको छ। यसैगरी, गत जेठ १५ गतेदेखि हलमा लागेको जोन योञ्जन निर्देशित चलचित्र ‘रोल नम्बर १’ ले बक्सअफिसमा औसत व्यापार गर्दै रु १ करोड ५५ लाख ४६ हजार ६६८ कमाएको छ।
मुकुन भुसाल, शुशाङ्क मैनाली, रेणु योगी लगायतका कलाकार अभिनित यस चलचित्रका लागि कुल ५७ हजार १३२ थान टिकट बिक्री भएको बोर्डले जनाएको छ। अर्कातर्फ, ‘रोल नम्बर १’ सँगै जेठ १५ गते नै प्रदर्शनमा आएको रणधीर श्रेष्ठ निर्देशित चलचित्र ‘कुम्भ’ को व्यापार भने यस वर्षकै सबैभन्दा कमजोर देखिएको छ।
अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल लगायतको अभिनय रहेको यस चलचित्रले आइतबार बेलुकीसम्म जम्मा रु ४ लाख २५ हजार ८८५ मात्र कमाउन सक्यो भने यसका लागि केवल १ हजार ८१५ थान टिकट मात्र बिक्री भएका छन्। चलचित्र क्षेत्रमा बक्सअफिस पारदर्शिता कायम राख्न बोर्डले प्रत्येक हप्ताको सोमबार यसरी नै चलचित्रहरूको आधिकारिक कमाइ सार्वजनिक गर्दै आइरहेको छ।


