Banijya News

अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा

1
1.0K Shares

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राख्दै नकआउट चरणमा प्रवेश गरेको छ। डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो।

यसअघि सानदार प्रदर्शन गरेको अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो। जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सो, लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले एक–एक गोल गरे भने जोर्डनका मुसा अल–तमारीले एक सान्त्वना गोल फर्काए।

खेलको १९औं मिनेटमा जियोभानीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ३१औं मिनेटमा मार्टिनेजले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए। खेलको ५५औं मिनेटमा जोर्डनका अल–तमारीले गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले ८०औं मिनेटमा गोल गर्दै जोर्डनको त्यो प्रयासलाई विफल तुल्याए।

यस जितसँगै समूह ‘जे’ मा अर्जेन्टिनाले ३ खेलबाट स्पष्ट ९ अंक जोड्दै समूह विजेता बन्यो। यही समूहबाट समान ४ अंक जोडेका अल्जेरिया र अष्ट्रिया क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल भए भने जोर्डन अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरियो।

1

Scroll to Top