जीवन बीमा कम्पनीहरूको व्यवसाय करिब एक दर्जन क्षेत्रमा रहे पनि सबैभन्दा धेरै हिस्सा सावधिक बीमा क्षेत्रमा रहेको देखिन्छ । जीवन बीमा कम्पनीका सावधिक बीमाको हिस्सा ४०.३१ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको २०८२।०८३ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसाय एक खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय एक खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले सावधिक बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले सावधिक बीमालेख बिक्री गरी कुल ७१ अर्ब ६० करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।
साथै, अग्रिम भुक्तानी सावधिक बीमालेख बिक्री गरेर कम्पनीहरुले ३३ अर्ब ३६ करोड ४७ लाख प्रिमियम कलेक्सन गरेका छन् । जसको हिस्सा १८.७८ प्रतिशत रहेको छ ।
त्यस्तै, चालु आवको ११ महिनामा बालबच्चा सम्बन्धी सावधिक बीमालेखवापत २९ अर्ब ३२ करोड १७ लाख खुद बीमाशुल्क आर्जन भएको छ । जसको हिस्सा १६.५० प्रतिशत रहेको छ । साथै, रुपान्तरित सावधिक बीमालेखको हिस्सा १२.४८ प्रतिशत रहेको छ । यस अवधिमा उक्त बीमालेख बिक्री गरेर २० अर्ब ७९ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ ।
प्राधिकरणका अनुसार, एकल बीमाशुल्क बीमालेखबाट ७ अर्ब ५८ करोड ६४ लाख, आजीवन बीमालेखबाट ३ अर्ब ९२ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगार म्यादी बीमालेखबाट ३ अर्ब ८ करोड रुपैयाँ, अन्य बीमालेखबाट ३ अर्ब २७ करोड रुपैयाँ, लघु बीमालेखको ३ अर्ब ८ करोड रुपैयाँ र म्यादी बीमालेखबाट १ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन भएकोे विवरणमा उल्लेख छ ।


