सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । नयाँ सिक्काको डिजाइनमा चुच्चे नक्सासँगै आकाश भैरवको चित्रसमेत समावेश गरिएको बताइएको छ ।
अर्थ मन्त्रालयका अनुसार, उक्त डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिएर कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।
सरकारले राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समेटेर नयाँ सिक्का जारी गर्ने तयारी गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय भएपछि सिक्का छपाइ तथा प्रचलनमा ल्याउने प्रक्रिया अघि बढाइनेछ ।
यसअघि राष्ट्र बैंकले मुस्ताङको घार गुम्बासहित तस्बिर राख्नेगरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको थियो । राष्ट्र बैंकलाई एक रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन सरकारले भनेको थियो ।
सोहीअनुरुप, नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखेर नयाँ सिक्काको डिजाइन तयार गरिएको हो ।
भारतको एक चर्चित मूलधारको मिडियाले समेत यही विषयलाई आधार बनाएर ‘झुका नेपाल’ भन्दै समाचार प्रकाशित गरेपछि नेपालमा चासो बढेको थियो । भारतीय मिडिया आजतकले एक रुपैयाँको सिक्काबाट लिम्पियाधुरा, कालापानी र लिपुलेकको नक्सा हटाउन नेपाल सरकार तयार भएको विषयलाई समाचार बनाएको थियो ।


