नेपाल राष्ट्र बैंकद्वारा तीनवटा वाणिज्य बैंकहरू कारबाहीमा परेका छन् । बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।
प्रभु बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नगद जरिवाना समेत गराएको छ । शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रभु बैंकले पटक–पटक दिइएका निर्देशनहरू पालना नगरेको, कर्जाको वर्गीकरण निर्देशनअनुसार नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको राष्ट्र बैंकले जनाएको छ । बैंकले राष्ट्र बैंकमा पेस गरेको कर्जा विवरण र बैंकको आफ्नै सफ्टवेयर (सिस्टम) बाट प्राप्त हुने विवरण फरक–फरक भेटिएपछि सिइओ शेरचनलाई व्यक्तिगत रूपमा जरिवाना गरिएको हो ।
यसैगरी, प्रभु बैंकको सञ्चालक समितिलाई पनि गम्भीर प्रकृतिका कमजोरीहरू सुधार गर्न र आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन ‘कवुलियतनामा’ गराइएको छ ।
प्रभु बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा देखिएका गम्भीर प्रकृतिका कमजोरीहरू समयमै सुधार गर्न बैंक अग्रसर नभएकोले उक्त बैंकको सञ्चालक समितिलाई यसअघि सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ । साथै, उल्लिखित कैफियत समयमै सुधार गर्न सुधारको योजना तर्जुमा गरी लागू गर्न बैंकको सञ्चालक समितिलाई निर्देशन दिइएको थियो ।
तर, २०८१ चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा २०८२ मा गरिएको उक्त बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा समेत ती कैफियतहरूमा अपेक्षित सुधार नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन,२०५८ (संशोधन समेत) को दफा १०० को उपदफा १ को खण्ड (ख) बमोजिम सुधारात्मक कदम चाल्नका लागि प्रभु बैंक लिमिटेडको सञ्चालक समितिलाई कबुलियतनामा गराइएको राष्ट्र बैंकले कारवाही गर्दै भनेको छ ।
प्रभु बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनहरूमा कर्जाका सम्बन्धमा दिइएका अधिकांश निर्देशनहरू बैंकले पालना नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक जारी भएका निर्देशनहरू पटक पटक उल्लंघन गरेको, बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार अघिल्लो निरीक्षण प्रतिवेदनमा उल्लिखितअधिकांश कैफियतहरू सुधार नगरेको पाइएको छ । त्यस्तै, राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८१ को इ.प्रा.निर्देशन नं २ बमोजिम कर्जाहरूको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको प्रतिवेदनले जनाएको छ ।
त्यस्तै, प्रभु बैंकले राष्ट्र बैंकमा पेश गरेको कर्जा सम्बन्धी विवरण बैंकको कोर बैकिङ सिस्टमबाट प्राप्त हुने कर्जा विवरण भन्दा फरक हुने गरी पेश गरेको जस्ता कार्य भएकोले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन उल्लंघन गरेकोले निजलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, राष्ट्र बैंकले सरकारी स्वामित्वका दुई बैंकहरू राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पनि कारबाही स्वरूप सचेत गराएको छ । राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का राख्ने तथा फुकुवा गर्ने सम्बन्धमा राष्ट्र बैंकले दिएको निर्देशन र आफ्नै विनियमावली पालना नगरेको भन्दै बैंकलाई सचेत गराएको हो ।
त्यस्तै, कृषि विकास बैंकले विशेष स्थलगत निरीक्षणका क्रममा बैंकले सम्बन्धित निकायको अनुरोध बमोजिम समयमै खाता रोक्का नगरेको र राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको पाइएकाले बैंकलाई सचेत गराइएको राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार, यी दुवै बैंकलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को १ (क) मा भएको व्यवस्थाबमोजिम सचेत गराइएको हो ।


