Banijya News

सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, १०% जरिवाना हुन सक्ने चेतावनी

1
1.0K Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । साथै, तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्नेसमेत जनाएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८३/८४ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेको छ । त्यसैले, शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुलाई नेप्सेले समयमै शुल्क बुझाउन आग्रह गरेको हो ।

नेप्सेका अनुसार, सूचीकृत कम्पनी अर्थात् धितोपत्रको वार्षिक नवीकरण शुल्कको हकमा ५० करोड रुपैयाँ चुक्तापूँजी भएका कम्पनीले ५० हजार रुपैयाँ वार्षिक शुल्क र ५० करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी भएका कम्पनीले १ लाख रुपैयाँ वार्षिक शुल्क बुझाउनुपर्नेछ ।

यसैगरी, डिबेञ्चर/म्युचुअल फण्ड (सामूहिक लगानी कोष)को वार्षिक नवीकरण शुल्कको हकमा भने ५० करोड रुपैयाँ चुक्तापूँजी भएका कोषले २५ हजार रुपैयाँ वार्षिक शुल्क बुझाउनुपर्छ । साथै, ५० करोड रुपैयाँभन्दा बढी पूँजी भएका फण्ड वा डिबेञ्चरले ५० हजार रुपैयाँ वार्षिक शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

नेप्सेले उक्त शुल्क आफ्‌नो खाता रहेको बैंक ग्लोबल आइएमई बैंकमा जम्मा गर्न अनुरोध गरेको छ । नेप्सेका अनुसार खाताको नाम ‘नेप्से अपरेटिङ अकाउन्ट’ को खाता नम्बर ०७५०१०१००००७७५ मा शुल्क जम्मा गरी भौचर नेप्सेको इमलेमा पठाउन सकिनेछ । साथै, तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा जरिवाना लाग्नुका साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय १६ अनुसार सूचीकरण स्थगन समेत गर्न सकिने नेप्सेले जनाएको छ ।

1

Scroll to Top