युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार, गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा म्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आवमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०५ प्रतिशत कम आम्दानी गरेको छ । आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीका खुद नाफा घट्न पुगेको हो ।
यसैगरी, समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.०३ प्रतिशत घटेको छ भने कुल आम्दानी ४.४० प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा २.२२ प्रतिशत बढेको छ ।
कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४२९ रुपैयाँ ५३ पैसा घटेर १ हजार ७१२ रुपैयाँ २७ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार ५३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.५७ गुणा रहेको छ ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको छ ।


