सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकले लाभांशसम्बन्धी प्रस्ताव आगामी १७औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँको बोनस सेयर वितरण गरिनेछ । यसअनुसार सेयरधनीले कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर प्राप्त गर्नेछन् ।
त्यस्तै, बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि कम्पनीले चुक्तापूँजीको ०.७८९४७ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल ३६ करोड ५५ लाख ६५ हजार ७८९ रुपैयाँ ४७ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।
कम्पनीको १७औँ वार्षिक साधारणसभा असोज १ गते बिहीबार काठमाडांैको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बस्ने भएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

