Banijya News

बाढी प्रभावितलाई दुई दिन टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस

1
1.0K Shares

नेपाल टेलिकमले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा उपलब्ध गराउन निर्देशन दिएपछि टेलिकमले सेवा सुरु गरेको हो ।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले हाललाई दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन २ जिबी डाटा र ५० वटा एसएमएस निःशुल्क पाउनेछन् । बाढीका कारण सञ्चार सम्पर्क प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर सूचना प्रवाह गरिरहेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीका कारण रसुवामा दुई तथा नुवाकोटमा पाँच गरी सात वटा टावरमा क्षति पुगेको छ । क्षतिग्रस्त टावर तथा अन्य सेवा पूर्वाधारको मर्मतसम्भार गरी सञ्चार सेवा नियमित बनाउन नेपाल टेलिकमको प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

1

Scroll to Top