बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था भए पनि बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा उनीहरूको ठूलो हिस्सा लगानी हुँदै आएको छ । पछिल्लो तथ्यांकले भने बैंकहरूको मुद्दति निक्षेपमा बीमा कम्पनीहरूको लगानी सामान्य मात्रै बढेको देखाएको छ ।
हाल नेपालमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । नियामकीय व्यवस्थाअनुसार बीमकहरूले लगानीयोग्य रकमको निश्चित हिस्सा विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राख्न पाउने व्यवस्था छ । जसअनुसार वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकमा कुल लगानीयोग्य रकमको ३० प्रतिशतसम्म, विकास बैंकमा १० प्रतिशतसम्म र फाइनान्स कम्पनीमा ५ प्रतिशतसम्म लगानी गर्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार समीक्षा वर्षमा बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब ६५ अर्ब ५१ करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो लगानी ६ खर्ब ६३ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ थियो । यस आधारमा एक वर्षमा बीमा कम्पनीको मुद्दति निक्षेपमा लगानी २ अर्ब ८ करोड ९९ लाख रुपैयाँ अर्थात् ०.३२ प्रतिशतले बढेको हो ।
यसैबीच, कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपमा लगानी उल्लेख्य रूपमा बढेको छ । समीक्षा वर्षमा कोषले बैंकहरूको मुद्दति निक्षेपमा २ खर्ब २३ अर्ब २६ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष यस्तो लगानी १ खर्ब ८२ अर्ब २२ करोड ९५ लाख रुपैयाँ थियो। एक वर्षमा कोषको लगानी २२.५२ प्रतिशतले बढेको हो ।
नागरिक लगानी कोषको मुद्दति निक्षेपमा लगानी पनि बढेको छ । समीक्षा वर्षमा कोषले १ खर्ब ५३ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ भने अघिल्लो वर्ष १ खर्ब ३३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ लगानी गरेको थियो। यसअनुसार कोषको लगानी १५.३१ प्रतिशतले बढेको छ ।
यता, बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेपमा पनि उल्लेख्य वृद्धि भएको छ । समीक्षा वर्षमा सर्वसाधारणको निक्षेप ५३ खर्ब ४९ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ४५ खर्ब ६० अर्ब १३ करोड ३४ लाख रुपैयाँ थियो । एक वर्षमा सर्वसाधारणको निक्षेप १७.३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
समग्रमा बैंकहरूको मुद्दति निक्षेपमा संस्थागत लगानीकर्ता तथा सर्वसाधारणको बचत बढ्दै गए पनि बीमा कम्पनीहरूको लगानी भने तुलनात्मक रूपमा स्थिर देखिएको छ ।

