Banijya News

रसुवाको बाढीमा सात हजार घर बगे, भौतिक संरचनामा अर्बौँको क्षति

1
1.0K Shares

रसुवा जिल्लामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण करिब ७ हजार घर बगेका छन् । बाढीले सडक, पुल, खानेपानी, विद्यालय, सरकारी भवनलगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार घर बगेर मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको छ ।

सडक विभागले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक तथा पूर्वाधारलाई तत्काल सञ्चालनमा ल्याउन आवश्यक काम अघि बढाइएको जानकारी दिएको हो । विभागका अनुसार, सडक मर्मत तथा तत्काल यातायात सञ्चालनका लागि ३ करोड २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । उक्त बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण तथा मर्मतको काम भइरहेको छ ।

बाढीका कारण जिल्लाका ३१ वटा पुलमा समेत क्षति पुगेको छ । क्षतिग्रस्त पुल तथा सडक संरचनाको अवस्था अध्ययन गरी तत्काल सञ्चालनमा ल्याउन सकिने स्थानमा अस्थायी तथा स्थायी संरचना निर्माणको काम अघि बढाइएको विभागले जनाएको छ ।

बाढीले खानेपानी तथा सरसफाइका संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ । यस्ता संरचनामा मात्रै करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिग्रस्त संरचनाको मर्मतसँगै पानी शुद्धीकरणको काम भइरहेको विभागले जनाएको छ । प्रभावित क्षेत्रमा खानेपानीको तत्काल समस्या समाधान गर्न काठमाडौँबाट समेत पानीका ट्यांकर पठाउने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, विद्यालय, सरकारी भवन तथा अन्य सार्वजनिक संरचनामा पनि बाढीले व्यापक क्षति पुर्‍याएको छ । यस्ता संरचनामा मात्रै करिब ४ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ ।

बाढीको प्रभाव पृथ्वीराजमार्गमा समेत परेको छ । कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भएपछि राजमार्ग अवरुद्ध भएको छ । उक्त सडक सञ्चालनमा ल्याउन कृष्णभीरको पहिरोभन्दा माथिल्लो भागबाट नयाँ बाटो कटान गर्ने विषयमा छलफल भइरहेको सडक विभागले जनाएको छ ।

विभागले प्रभावित क्षेत्रमा यातायात, खानेपानी र अन्य अत्यावश्यक सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन प्राथमिकताका साथ पुनर्निर्माण तथा मर्मतको काम अघि बढाइरहेको जनाएको छ ।

1

Scroll to Top