नेप्से परिसूचक आज बुधबार सामान्य अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक बुधबार पनि दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक १५.४४ अंक बढेर २५३८.११ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक बढेको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशत बढेको छ । कारोबारमा आएको म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको हो ।
नेप्सेसँगै बुधबार कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार २ अर्ब ९० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशत बढेको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको एनएमबि इनर्जी बण्ड ४ प्रतिशत २०९३/९४ को मूल्य सर्वाधिक ५.८१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ ।


