Banijya News

समस्याग्रस्त सहकारीका छुटेका बचतकर्तालाई अन्तिमपटक अनलाइन दाबीको अवसर

1
1.0K Shares

समस्याग्रस्त सहकारी संस्थामा बचत फसेका तर विभिन्न कारणले यसअघि अनलाइन मागदाबी गर्न छुटेका बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि पुनः दाबी गर्ने अवसर पाएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले छुटेका बचतकर्ताका लागि तीन महिनासम्म अनलाइन मागदाबी खुला गरेको हो ।

समितिका अनुसार, अनलाइन मागदाबी प्रणाली २०८३ भदौ १५ गतेदेखि मंसिर १४ गतेसम्म सञ्चालन हुनेछ । समितिले यसलाई यसअघि मागदाबी गर्न छुटेका बचतकर्ताका लागि ‘अन्तिम पटक’ खोलिएको अवसरका रूपमा उल्लेख गरेको छ ।

यस अवधिमा २६ समस्याग्रस्त सहकारीका छुटेका सदस्य बचतकर्ताले मागदाबी गर्न सक्नेछन् । कञ्जुमर बचत तथा ऋण, कुबेर बचत तथा ऋण, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट, चार्टर्ड सेभिङ एण्ड क्रेडिट, स्टाण्डर्ड मल्टिप्रपोज, स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट, प्रभु बचत तथा ऋण, भेगास बचत तथा ऋण, सोसाइटल बचत तथा ऋण र लुःनिभा बहुउद्देश्यीय सहकारीका बचतकर्ताले दाबी गर्न पाउनेछन् ।

त्यस्तै, ओरेण्टल को–अपरेटिभ, पशुपती सेभिङ एण्ड क्रेडिट, तुलसी बहुमुखी, शिवशिखर बहुउद्देश्यीय, हाम्रो नयाँ कृषी, कृषि विकास बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, श्री लालिगुराँस बहुउद्देश्यीय, गौतमश्री बहुउद्देश्यीय, गोरखा सेभिङ एण्ड क्रेडिट, श्री आईडल यमुना हाम्रो बहुउद्देश्यीय, तपाईं हाम्रो बहुउद्देश्यीय, हाम्रो सगरमाथा बहुउद्देश्यीय, नागरिक कल्याण बहुउद्देश्यीय र घेदुङ बहुउद्देश्यीय सहकारीका छुटेका बचतकर्ताले पनि आवेदन दिन सक्नेछन् ।

समितिले यसअघि नै अनलाइन मागदाबी गरिसकेका बचतकर्ताले पुनः आवेदन दिन नपाउने स्पष्ट पारेको छ । दोहोरो मागदाबी गरेमा त्यस्तो आवेदन स्वतः रद्द हुने जनाइएको छ । एक व्यक्तिले एउटामात्र आवेदन दिन पाउने भएकाले सम्बन्धित सहकारीमा रहेका आफ्ना सबै प्रकारका बचतको विवरण एउटै आवेदनमा समावेश गर्नुपर्नेछ । एउटै परिवारका फरक सदस्यको बचत भए प्रत्येक सदस्यले छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ ।

मागदाबी गर्दा कारोबार गरेको सहकारी र शाखा छनोट गर्नुपर्नेछ । आवेदनको अवस्था मोबाइल नम्बरका आधारमा जाँच गर्न सकिने भएकाले आफ्नै मोबाइल नम्बर प्रयोग गर्न समितिले आग्रह गरेको छ । अन्य व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी गरिएको मागदाबी रद्द हुने चेतावनीसमेत दिइएको छ ।

नाबालक बचतकर्ताको हकमा बाबु वा आमाले संरक्षकका रूपमा मागदाबी गर्न सक्नेछन् । बचतकर्ताको मृत्यु भइसकेको भए बचतकर्ताकै विवरण भरेर हकवालाको बैंक खाता, नाता प्रमाणित हुने कागजात र हकवालाको हस्ताक्षर पेश गर्नुपर्नेछ ।

आफ्नै बैंक खाता अनिवार्य

समितिले रकम फिर्ताका लागि मागदाबी गर्ने व्यक्तिको आफ्नै बैंक खाता अनिवार्य रहेको जनाएको छ । आवेदनमा उल्लेख गरिने बैंक खाता सहकारीको नभई पछि बचत रकम फिर्ता लिन प्रयोग हुने बचतकर्ताको खाता हुनुपर्नेछ । बैंक खाता विवरण नमिलेमा आवेदन प्रक्रिया अघि बढ्न नसक्ने समितिले जनाएको छ ।

बचतको अन्तिम मौज्दात उल्लेख गर्दा पासबुक वा सहकारीबाट प्राप्त प्रमाणमा देखिएको अन्तिम सञ्चित रकम र त्यसको मिति राख्नुपर्नेछ । एउटै व्यक्तिका एउटै प्रकारका एकभन्दा बढी खाता भए सबैको विवरण थप गर्न सकिनेछ । ब्याजदर भने पासबुक वा मुद्दती बचत प्रमाणपत्रमा उल्लेख भएअनुसार नै राख्नुपर्नेछ ।

पासबुक पेश गर्दा बचतकर्ताको नाम र विवरण देखिने पहिलो पृष्ठ तथा मौज्दात देखिने पछिल्लो पृष्ठको प्रतिलिपि अपलोड गर्नुपर्नेछ । मागदाबीकर्ताले सेतो कागजमा गरेको हस्ताक्षर वा औंठाछापको स्क्यान प्रतिसमेत पेश गर्नुपर्नेछ ।

संयुक्त नाममा खाता खोलिएको अवस्थामा खातामा उल्लेख भएअनुसार सबैको नाम राख्नुपर्ने र अन्य विवरण पहिलो नाम भएका व्यक्तिको भर्नुपर्ने समितिले जनाएको छ ।

समितिले सम्पूर्ण विवरण र प्रमाण रुजु गरेपछि मात्रै आवेदन अन्तिम रूपमा पेश गर्न बचतकर्तालाई आग्रह गरेको छ । अनलाइन मागदाबी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अनलाइन मागदाबी प्रणाली मार्फत गर्न सकिनेछ ।

1

Scroll to Top