स्वास्थ्य बीमा बोर्डले बीमितको केवाईसी विवरण अद्यावधिक गर्न विद्युतीय माध्यमबाट स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था अस्थायी रूपमा बन्द गरेको छ । बोर्डले भदौ २५ गतेदेखि कनेक्टआईपीएस, ई–सेवा, खल्तीलगायतका माध्यमबाट स्वास्थ्य बीमा नवीकरण गर्न नमिल्ने जनाएको हो ।
बोर्डले जारी गरेको सूचनाअनुसार, स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको केवाईसी विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । केवाईसी अपडेट भएपछि भने विगतमा प्रयोग हुँदै आएका विद्युतीय माध्यमबाट समेत सोझै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने बोर्डले जनाएको छ ।
हाल सम्पूर्ण बीमितले एचआईबी ई–पोर्टलमार्फत आफ्नो पुरानो बीमा विवरण सिंक्रोनाइज गरी अनिवार्य रूपमा केवाईसी अपडेट गर्नुपर्नेछ । त्यसपछि सोही पोर्टलबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अनलाइन आबद्धता तथा नवीकरणसम्बन्धी सेवामा सहजता, पारदर्शिता र प्रविधिको प्रयोग बढाउने उद्देश्यले बोर्डले एचआईबी ई–पोर्टल सञ्चालनमा ल्याएको हो । बोर्डले नयाँ व्यवस्थाबाट बीमितको विवरण व्यवस्थित हुने र स्वास्थ्य बीमा सेवामा थप सहजता आउने अपेक्षा गरेको छ ।

