राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव देखिएको भन्दै सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाउने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले यस्तो अवस्था कायम रहनुमा सरकारभन्दा कुनै समूह वा माफियाको प्रभाव बढी देखिएको हो कि भन्ने प्रश्नसमेत उठाइन् ।
सांसद तामाङले ग्यासको समस्या लिएर आफूलाई दैनिक हजारौँ फोन आउने गरेको बताइन् । बजारमा ग्यासका सिलिन्डर देखिए पनि कतिपय पसलेले बिक्री गर्न नमानेको गुनासो उपभोक्ताबाट आउने गरेको उनको भनाइ छ ।
उनले ‘लासामा सुन छ, कान मेरो बुच्चै छ’ भन्ने अवस्था जस्तै ग्यास बजारमा हुँदाहुँदै उपभोक्ताले पाउन नसकेको भन्दै यसबारे सभामुखमार्फत जवाफ मागेकी छन् ।
जनताले रास्वपालाई ठुलो जनमत दिएर पठाउनुको उद्देश्य बजारमा ग्यास हुँदाहुँदै भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना गर्नु नभएको उनको भनाइ थियो ।
तामाङले सरकारसँग ग्यास उपलब्ध गराउन नसक्ने अवस्था भए स्पष्ट घोषणा गर्नसमेत आग्रह गरिन् । ग्यास उपलब्ध नहुने हो भने सरकारले जनतालाई वैकल्पिक व्यवस्था अपनाउन जानकारी दिनुपर्ने भन्दै उनले व्यंग्यात्मक रूपमा ‘दाउरा खोजेर भात पकाएर खाऊ’ भन्नुपर्ने अवस्था आउन सक्ने बताइन् ।
उनले ग्यासको समस्या समाधान गर्न भन्दै पटक–पटक मन्त्री परिवर्तन गर्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाइन् । ग्यासको समस्या यथावत् राखेर मन्त्री मात्रै परिवर्तन गर्दै जाने हो भने आगामी दिनमा ग्यासको लाइनभन्दा मन्त्री बन्नेहरूको लाइन लामो हुने उनको टिप्पणी थियो ।

