Banijya News

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणले थाल्यो अग्रिम तयारी

1
1.0K Shares

नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम अर्थात् हिउँदमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि पूर्वतयारी तीव्र बनाएको छ । गत भदौ १० गते रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि उत्पादन प्रभावित भएकाले हिउँदमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न प्राधिकरणले अहिलेबाटै तयारी थालेको हो ।

हिउँदमा विशेषगरी काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत् माग बढ्ने भएकाले आपूर्ति व्यवस्थापनका लागि आवश्यक अध्ययन तथा पूर्वतयारी अघि बढाउने निर्णय मंगलबार प्राधिकरणमा बसेको बैठकले गरेको छ ।

कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आयोजना व्यवस्थापन निर्देशनालय र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख तथा आयोजना प्रमुख सहभागी थिए ।

बैठकले हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक अध्ययन तथा कार्य अघि बढाउन बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई दैनिक कार्यप्रगति विवरण कार्यकारी निर्देशकसमक्ष पेस गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ ।

बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रबाट उत्पादन बन्द हुँदा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा केही चाप देखिए पनि आगामी हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन आवश्यक तयारी समयमै अघि बढाइने उनले बताए ।

यसैगरी, काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण र वितरणसम्बन्धी आयोजना तोकिएको समयसीमाभित्र सम्पन्न गर्न पनि बैठकले निर्देशन दिएको छ ।

बाढीबाट प्रभावित नुवाकोट र रसुवाको विद्युत् आपूर्ति थप भरपर्दो बनाउन वैकल्पिक व्यवस्थाबारे समेत छलफल भएको छ । बाढीबाट क्षतिग्रस्त देवीघाट सबस्टेसन पुनः सञ्चालनमा ल्याउन सकिने सम्भावनाबारे स्थलगत अध्ययन गर्न प्राधिकरणले टोली परिचालन गरेको जनाएको छ ।

1

Scroll to Top