रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाल–चीन व्यापारको ठूलो हिस्सा कोरलानाकातर्फ मोडिँदा मुस्ताङ भन्सार कार्यालयको राजस्व संकलन उल्लेख्य बढेको छ । भन्सार कार्यालयले २० दिनमै २ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भोटेकोशी बाढीपछि रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द हुँदा त्यहाँबाट आउने अधिकांश मालवस्तु तथा विद्युतीय सवारी रुट परिवर्तन गरी कोरलानाका हुँदै नेपाल भित्रिने गरेका छन् ।
लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाकाबाट आएका ५६४ कन्टेनर र १ हजार ९० विद्युतीय सवारीको जाँचपास गरिएको छ । रसुवागढी र तातोपानी नाका बन्द रहेको अवस्थामा कोरला चीनबाट वस्तु आयात गर्ने प्रमुख वैकल्पिक स्थलमार्ग बनेको छ ।
भदौ १० गतेअघि भने अवस्था फरक थियो । चालु आर्थिक वर्षको साउनदेखि भदौ ९ गतेसम्मको ४० दिनमा कोरलाबाट १६३ विद्युतीय सवारी र १३३ मालवस्तु बोकेका कन्टेनर जाँचपास भएका थिए ।
मुस्ताङ भन्सारका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा कुल ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । साउनमा २६ करोड ३९ लाख र भदौमा मात्रै २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व उठेको छ ।
भदौमा कोरलानाका हुँदै १ हजार २५३ विद्युतीय सवारी नेपाल भित्रिएका थिए । यसबाट १ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सारले जनाएको छ । गत आर्थिक वर्ष २०८२/८३ को पूरै १२ महिनामा मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

