Banijya News

शरद् ऋतुमा ६३७ आरोहीले पाए १८ हिमाल चढ्ने अनुमति, २३ करोड ८५ लाख रोयल्टी प्राप्त

1
1.0K Shares

सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न १८ हिमाल आरोहणका लागि ६८ टोलीका ६३७ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिनेमा ४७४ पुरुष र १६३ महिला रहेका छन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार हिमाल आरोहणको अनुमति प्रदान गरेबापत विभागले १५ लाख ६८ हजार ७३४ अमेरिकी डलर बराबरको रोयल्टी संकलन गरेको छ । नेपाली रुपैयाँमा उक्त रकम २३ करोड ८५ लाख १७ हजार ७९७ बराबर हुन्छ ।

शरद् ऋतुमा आरोहण अनुमति लिने हिमालमध्ये मनास्लु सबैभन्दा आकर्षणको केन्द्र बनेको छ । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । मनास्लुबाट मात्रै विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

त्यसैगरी, धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना र डांगा हिउँचुलीका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन् । बरुणत्से हिमाल आरोहणका लागि एक टोलीका १० जनाले अनुमति पाएका छन् ।

विभागका अनुसार मकालु, गंगापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालका लागि पनि आरोहण अनुमति जारी गरिएको छ ।

शरद् ऋतु नेपालमा हिमाल आरोहणका लागि महत्वपूर्ण सिजन मानिन्छ । यस अवधिमा विभिन्न मुलुकबाट आउने आरोहीका कारण पर्वतीय पर्यटन गतिविधि बढ्नुका साथै सरकारको रोयल्टी आम्दानीमा समेत योगदान पुग्ने गरेको छ ।

1

Scroll to Top