Banijya News

नेप्सेमा झिनो सुधार, कारोबार रकम भने बढ्यो

1
1.0K Shares

केही दिनयता लगातार घटिरहेको नेप्से विहीबार झिनो अंकले सकारात्मक भएर बन्द भएको छ । आज नेप्से परिसूचक ०.२६ अंक बढेर २५९९.१५ विन्दुमा रोकिएको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ ।

१३ उपसमूहमध्ये आज चार उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ भने लगानी उपसमूहको परिसूचक स्थिर रहेको छ ।

नेप्सेमा झिनो सुधारको संकेत देखिएसँगै कारोबार रकम पनि सामान्य बढेको छ । हिजो बुधबार ४ अर्ब ७६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा विहीबार ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.६६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ३० करोड ५३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकले भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछ । लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएकोले लगानीकर्ताहरु यसतर्फ आकर्षिक भएका हुन् । त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको करिब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

1

Scroll to Top