Banijya News

अधिक तरलताले घटायो ब्याजदर, बचतकर्ताको प्रतिफलमा दबाब

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ठूलो रकम बजारबाट प्रशोचन गरे पनि अल्पकालीन ब्याजदरलाई नीतिगत दरको आसपास ल्याउने प्रयास प्रभावकारी हुन सकेको छैन । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि छोटो अवधिको ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाको आसपास सीमित भएको छ । यसको प्रत्यक्ष असर भने निक्षेपकर्ताले पाउने प्रतिफलमा परेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदरलाई नीतिगत दरको वरिपरि राख्ने लक्ष्य लिएको छ । हाल नीतिगत दर ४.२५ प्रतिशत छ । ब्याजदर करिडोरको माथिल्लो सीमा ५.७५ प्रतिशत र तल्लो सीमा २.७५ प्रतिशत कायम छ । तर, बजारमा कायम अल्पकालीन ब्याजदर भने नीतिगत दरभन्दा निकै तल झरेर करिडोरको फ्लोर रेटकै हाराहारीमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जाको माग कमजोर हुँदा निक्षेप तथा अन्य स्रोतबाट संकलन भएको रकम पर्याप्त रूपमा कर्जा लगानी हुन सकेको छैन । फलस्वरूप बैंकिङ प्रणालीमा अतिरिक्त रकम थुप्रिँदै गएको छ । यही रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।

राष्ट्र बैंकले एक वर्षे अवधिका लागि ४ खर्ब रुपैयाँको ऋणपत्र उठाएको छ । त्यस्तै ३० अर्ब रुपैयाँ स्थायी निक्षेप सुविधा (एसडीएफ) र करिब साढे ७ खर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । यति ठूलो रकम प्रणालीबाट खिच्दा पनि बजारको ब्याजदर भने नीतिगत दरतर्फ उक्लिन सकेको छैन ।

बरु राष्ट्र बैंकमा रकम राख्न बैंकहरूबीच कम ब्याजदरमा प्रतिस्पर्धा देखिएको छ । असोज १२, १४ र १६ गते निक्षेप संकलन उपकरणमार्फत भएको बोलकबोलमा औसत ब्याजदर क्रमशः २.७३, २.७२ र २.७२ प्रतिशत कायम भएको थियो । अर्थात् बैंकहरू ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशतभन्दा समेत कम दरमा राष्ट्र बैंकमा रकम राख्न तयार देखिएका छन् ।

यसले समस्या केवल प्रणालीमा तरलता बढी हुनुमा सीमित नभएको देखाएको छ । राष्ट्र बैंकले तरलता प्रशोचन गरिरहे पनि त्यसको प्रभाव ब्याजदर संरचनामा अपेक्षित रूपमा देखिन सकेको छैन । नीतिगत दर ४.२५ प्रतिशत हुँदा बजारको अल्पकालीन ब्याजदर करिब २.७ प्रतिशतमा रहनुले मौद्रिक नीतिको संकेत र बजारको वास्तविक अवस्थाबीच दूरी बढेको देखाउँछ ।

अधिक तरलता व्यवस्थापनका लागि उपलब्ध स्थायी निक्षेप सुविधाले बैंकहरूलाई केही राहत दिए पनि प्रणालीमा रहेको सम्पूर्ण अतिरिक्त रकम व्यवस्थापन गर्न सकेको छैन । बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ८८ प्रतिशतसम्म राष्ट्र बैंकमा पार्क गर्न पाए पनि बाँकी १२ प्रतिशत रकम फ्री फन्डका रूपमा राख्नुपर्ने अवस्था छ ।

बैंकिङ क्षेत्रका अनुसार राष्ट्र बैंकमा रकम पार्क गर्न पाउने सुविधाले ब्याजदर थप तल जानबाट केही हदसम्म रोक्न सहयोग गरेको छ । तर, बैंकिङ कारोबार बन्द हुने शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिन अतिरिक्त रकम राष्ट्र बैंकमा पार्क गर्न नसकिने भएकाले त्यसको भार कारोबार खुल्ने अर्को दिनसम्म सर्दै जाने गरेको छ ।

यता ट्रेजरी बिल्सको ब्याजदर पनि औसत एकदेखि डेढ प्रतिशतमा झरेको छ । निक्षेप संकलन उपकरणमा समेत बैंकहरूले २.६०, २.६५ र २.७० प्रतिशतसम्ममा बोलकबोल गरिरहेका छन् । यसले बैंकिङ प्रणालीमा अधिक तरलताको दबाब गहिरिँदै गएको संकेत गर्छ ।

अधिक तरलताको प्रभाव सबैभन्दा बढी निक्षेपकर्तामा परेको छ । अहिले निक्षेपको औसत ब्याजदर ३.१५ प्रतिशत र मुद्दति निक्षेपको औसत ब्याजदर करिब साढे ४ प्रतिशत छ । यता मुद्रास्फीति दर ५.९६ प्रतिशत पुगेको छ । यस हिसाबले सामान्य निक्षेपमा प्राप्त हुने ब्याजदर मुद्रास्फीतिभन्दा करिब २.८ प्रतिशत बिन्दुले कम छ ।

न्यून ब्याजदरले तत्कालीन रूपमा ऋणीलाई लाभ पुर्‍याउँछ । कर्जाको ब्याजदर घट्दा व्यवसाय सञ्चालन तथा लगानीको लागत कम हुन्छ । तर, लामो समयसम्म ब्याजदर अत्यधिक न्यून रहँदा बचतकर्ताको प्रतिफल घट्ने र बैंकमा बचत गर्ने आकर्षण कमजोर हुने जोखिम पनि हुन्छ ।

बैंकमा रकम राखेर प्राप्त हुने ब्याजले मुद्रास्फीतिका कारण पैसाको वास्तविक मूल्य जोगाउन सकेको छैन । मुद्दति निक्षेपको ब्याजदर तुलनात्मक रूपमा बढी भए पनि त्यसले समेत मुद्रास्फीतिलाई उछिन्न सकेको छैन । अर्थात् बचतकर्ताले ब्याज पाइरहे पनि वास्तविक अर्थमा उनीहरूको क्रयशक्ति घटिरहेको अवस्था छ ।

त्यसैले, राष्ट्र बैंकका लागि अहिलेको चुनौती अधिक तरलता प्रशोचनमा मात्र सीमित छैन । प्रशोचन गरिएको तरलताको प्रभाव बजार ब्याजदरमा कसरी देखाउने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण बनेको छ । नीतिगत दर, ब्याजदर करिडोर र तरलता प्रशोचनका उपकरणबीच प्रभावकारी समन्वय हुन नसके मौद्रिक नीतिले बजारलाई दिने संकेत थप कमजोर हुन सक्ने देखिन्छ ।

1

Scroll to Top