Banijya News

थाइल्यान्डको भिसा प्रक्रिया नसुधारे पर्यटकीय प्याकेज बन्द गर्ने नाट्टाको चेतावनी

1
1.0K Shares

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले थाइल्यान्डको पर्यटक भिसा प्रक्रिया तत्काल सहज र व्यावहारिक बनाउन माग गर्दै सुधार नभए पर्यटकीय प्याकेज बिक्री तथा समूहगत भ्रमण स्थगन गर्ने चेतावनी दिएको छ ।

भिसा प्रक्रियामा भइरहेको ढिलाइ र अव्यावहारिक सर्तका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायी आर्थिक जोखिममा परेको भन्दै नाट्टाले यस्तो चेतावनी दिएको हो । भिसा अस्वीकृत हुने वा यात्राको निर्धारित मिति सकिएपछि मात्र निर्णय आउने अवस्थाले अग्रिम भुक्तानी गरेको रकम गुम्ने जोखिम बढाएको नाट्टाको भनाइ छ ।

नाट्टाका अनुसार, थाइल्यान्डको भिसा प्राप्त हुने सुनिश्चितता नहुँदै यात्रुले हवाई टिकट र होटेल बुकिङ गर्नुपर्ने बाध्यता छ । आवश्यक सम्पूर्ण कागजात पूरा गरी आवेदन दिँदा पनि भिसा अस्वीकृत हुने वा समयमै निर्णय नआउने घटनाले नेपाली यात्रु तथा पर्यटन व्यवसायीको लाखौँ अमेरिकी डलरबराबरको रकम जोखिममा परेको छ ।

विशेषगरी कम मूल्यका हवाई टिकट रद्द गर्दा रकम फिर्ता नहुने वा ठूलो शुल्क तिर्नुपर्ने व्यवस्थाले आर्थिक जोखिम थप बढाएको नाट्टाले जनाएको छ । त्यस्तै, अनलाइन बुकिङ माध्यम तथा व्यावसायिक आरक्षण प्रणालीमार्फत गरिएको होटेल बुकिङलाई पर्याप्त नमान्ने र होटेलबाटै छुट्टै पुष्टि पत्र माग्ने व्यवस्थाले भिसा प्रक्रिया थप जटिल बनाएको उसको आरोप छ ।

भिसा स्वीकृत हुने सुनिश्चितता नहुँदै अग्रिम भुक्तानी गर्नुपर्ने, बुकिङसम्बन्धी थप सर्त पूरा गर्नुपर्ने र अन्ततः भिसा अस्वीकृत हुँदा वा ढिलो निर्णय आउँदा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था अन्यायपूर्ण रहेको नाट्टाको ठहर छ ।

नाट्टाले भिसा प्रक्रियासँग सम्बन्धित आर्थिक जोखिम नेपाली यात्रु तथा व्यवसायीमाथि मात्र थोपर्ने व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारेको छ । साथै, आर्थिक शोषणको सम्भावनाबारे निष्पक्ष छानबिन गर्न पनि माग गरेको छ ।

भिसा प्रक्रियालाई पारदर्शी, व्यावहारिक, समयबद्ध र आर्थिक रूपमा न्यायोचित बनाउन माग गर्दै नाट्टाले रोयल थाई दूतावाससँग तत्काल उच्चस्तरीय आपत्‌कालीन बैठकका लागि पत्राचार गरेको जनाएको छ । माग सम्बोधन नभए थाइल्यान्ड लक्षित पर्यटकीय प्याकेजको बिक्री, प्रचारप्रसार तथा समूहगत भ्रमण सञ्चालन स्थगन गर्ने नाट्टाको चेतावनी छ ।

1

Scroll to Top