Banijya News

मौलिक चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने

1
1.0K Shares

सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा ३ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । मौलिक, यथार्थपरक तथा जनचेतनामूलक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले अनुदानका लागि आवेदन आह्वान गरेको हो ।

मन्त्रालयले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

मन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक विवरण र कागजातसहित आवेदन पेस गर्नुपर्नेछ । सरकारले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि विनियोजन गरेको बजेट कार्यान्वयन गर्न लागेको हो ।

सरकारले चलचित्रका माध्यमबाट नेपालको सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व र सामाजिक चेतनासँग सम्बन्धित विषयवस्तुलाई अभिलेखीकरण तथा प्रस्तुत गर्न सहयोग पुर्‍याउने लक्ष्य राखेको छ । स्थानीय संस्कृति, परम्परा, मौलिक कथा, सामाजिक यथार्थ र राष्ट्रिय पहिचानलाई समेटेर चलचित्र निर्माण गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

मन्त्रालयका अनुसार, अनुदान तीन विधामा उपलब्ध गराइनेछ । यसअन्तर्गत स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा आवेदन दिन सकिनेछ । स्क्रिप्ट विधाले चलचित्रको कथा तथा पटकथा विकासमा सहयोग पुर्‍याउनेछ भने प्रोडक्सन विधाअन्तर्गत चलचित्र निर्माणका काममा आर्थिक सहायता उपलब्ध गराइनेछ । त्यस्तै, पोस्ट प्रोडक्सन विधाले चलचित्रको छायांकन सम्पन्न भएपछि गरिने सम्पादनलगायतका निर्माणपछिका काममा सहयोग गर्ने लक्ष्य राखेको छ ।

अनुदानका लागि आवेदन दिने व्यक्ति वा संस्थाले चलचित्रको स्क्रिप्टको नाम, अनुदान माग गरिएको विधा, कथाकार तथा पटकथाकारको नाम, चलचित्रको भाषा र स्क्रिप्ट लेखकको नाम तथा ठेगाना खुलाउनुपर्नेछ । त्यसैगरी निर्माता, निर्देशक र छायाँकारको नाम तथा ठेगाना पनि आवेदनमा उल्लेख गर्नुपर्नेछ ।

चलचित्र निर्माण गर्ने संस्था वा कम्पनीको नाम र ठेगाना तथा निर्माणमा साझेदार संस्था भए त्यसको विवरणसमेत पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ । आवेदनमा चलचित्रमा रहने कलाकारको नाम र संख्या खुलाउनुका साथै लेखक, निर्माता, निर्देशक, छायाँकार तथा मुख्य कलाकारको व्यक्तिगत विवरण अर्थात् बायोडाटा समावेश गर्नुपर्नेछ ।

यसका अतिरिक्त चलचित्र निर्माणसम्बन्धी कार्ययोजना पनि आवेदनसँगै पेस गर्नुपर्नेछ । आवेदकले माग गरेको अनुदान विधाअनुसार आवश्यक विवरण तथा कागजात पूरा गरी तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ ।

सरकारले चलचित्र निर्माणका विभिन्न चरणमा आर्थिक सहयोग उपलब्ध गराउँदा सिर्जनात्मक गतिविधि विस्तार हुने, मौलिक विषयवस्तुमा आधारित चलचित्र निर्माण बढ्ने र जनचेतनामूलक सामग्री उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।

अनुदान वितरणको विस्तृत प्रक्रिया, छनोटका मापदण्ड तथा अन्य सर्त भने सम्बन्धित कार्यविधिबमोजिम निर्धारण हुने मन्त्रालयले जनाएको छ । यस कार्यक्रमले नेपाली चलचित्रमार्फत देशको संस्कृति, परम्परा, सामाजिक अवस्था र राष्ट्रिय पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्न योगदान पुर्‍याउने सरकारको विश्वास छ ।

1

Scroll to Top