Banijya News

पहिलो त्रैमासमा बैंकहरूको कर्जा प्रवाह एक खर्ब ४१ अर्बले बढ्यो, कुनको कति ?

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ खर्ब ४१ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार, असोज मसान्तसम्म २० वाणिज्य बैंकले कुल ५४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । यसअनुसार तीन महिनाको अवधिमा बैंकहरूको कर्जा प्रवाह १ खर्ब ४१ अर्ब रुपैयाँले बढेको हो ।

पहिलो त्रैमासको सुरुवातमा भने बैंकहरूको कर्जा प्रवाहमा सामान्य गिरावट देखिएको थियो । साउन महिनामा असार मसान्तको तुलनामा कर्जा प्रवाह १ अर्ब ७१ करोड रुपैयाँले घटेको थियो । तर, त्यसपछिका दुई महिनामा कर्जा प्रवाहले गति लिएको छ ।

संघको तथ्यांकअनुसार भदौ महिनामा वाणिज्य बैंकहरूले ६२ अर्ब ६८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । त्यस्तै, असोज महिनामा मात्रै कर्जा प्रवाह ८० अर्ब ३ करोड रुपैयाँले बढेको छ । यसले पहिलो त्रैमासको अन्तिम दुई महिनामा बैंकहरूको कर्जा विस्तार उल्लेख्य रूपमा बढेको देखाउँछ ।

बैंकगत रूपमा हेर्दा सबैभन्दा धेरै कर्जा विस्तार गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको कर्जा प्रवाह तीन महिनामा ३० अर्ब ९७ करोड रुपैयाँले बढेर ५ खर्ब ७ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म बैंकको कर्जा प्रवाह ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ थियो ।

त्यस्तै, नबिल बैंकको कर्जा प्रवाह १६ अर्ब ४४ करोड रुपैयाँले बढेर ५ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । कर्जा विस्तारका आधारमा यी दुई बैंक अगाडि देखिएका छन् ।

पहिलो त्रैमासमा २० वाणिज्य बैंकमध्ये १७ वटाको कर्जा प्रवाह बढेको छ भने तीन बैंकको घटेको छ । कर्जा प्रवाह घट्ने बैंकमा प्रभु बैंक, एनआइसी एसिया बैंक र सानिमा बैंक रहेका छन् ।

कुल कर्जा प्रवाहका आधारमा भने स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा पछाडि रहेको छ । असोज मसान्तसम्म बैंकको कर्जा प्रवाह ७१ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमासमा अधिकांश बैंकको कर्जा प्रवाह बढ्नुले बैंकिङ क्षेत्रमा कर्जा विस्तारले गति लिएको देखाएको छ । यद्यपि, कर्जा विस्तारको प्रभावकारिता र गुणस्तर मूल्यांकन गर्न कर्जाको माग, लगानीको क्षेत्र तथा कर्जा असुलीको अवस्थासमेत महत्त्वपूर्ण हुने देखिन्छ ।

1

Scroll to Top