साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा संस्थाको खुद नाफा १९.६४ प्रतिशतले घटेको हो । मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको संकुचन र कर्जा प्रवाहमा आएको कमीले संस्थाको नाफामा दबाब परेको देखिन्छ ।
संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १८ करोड ३६ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २२ करोड ८४ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष नाफा ४ करोड ४८ लाख ८३ हजार रुपैयाँले घटेको हो ।
संस्थाको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य गिरावट आएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी २०.२५ प्रतिशतले घटेर २७ करोड २५ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३४ करोड १७ लाख १३ हजार रुपैयाँ थियो । कुल ब्याज आम्दानी १४.७९ प्रतिशतले घट्दा ब्याज खर्च भने ६.५० प्रतिशतले मात्रै घटेको छ । आम्दानीको तुलनामा ब्याज खर्चमा कम गिरावट आउँदा खुद ब्याज आम्दानी प्रभावित भएको हो ।
संस्थाको मुख्य व्यवसायका रूपमा रहेको लघुवित्त तथा सहकारी संस्थातर्फको कर्जा लगानीसमेत घटेको छ । गत असार मसान्तमा ३५ अर्ब ३९ करोड २९ लाख रुपैयाँ रहेको खुद कर्जा मौज्दात असोज मसान्तमा घटेर ३३ अर्ब ३ करोड ५० लाख रुपैयाँ कायम भएको छ । तीन महिनाको अवधिमा कर्जा मौज्दात २ अर्ब ३५ करोड ७९ लाख रुपैयाँ अर्थात् ६.६६ प्रतिशतले घटेको हो ।
यस अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम (इम्पेयरमेन्ट चार्ज रिभर्सल) भने बढेको छ । चालु त्रैमासमा यस्तो रकम ८ करोड ७० लाख १५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ८ करोड १ लाख ३४ हजार रुपैयाँ थियो । यद्यपि, खुद सञ्चालन आम्दानी १४.७७ प्रतिशतले घटेर ३५ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ ।
संस्थाको वितरणयोग्य नाफामा पनि गिरावट देखिएको छ । पहिलो त्रैमासमा वितरणयोग्य नाफा १२ करोड ८५ लाख ३० हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १५ करोड ७६ लाख ६३ हजार रुपैयाँ थियो । यसअनुसार त्रैमासिक वितरणयोग्य नाफा १८.४८ प्रतिशतले घटेको हो ।
अघिल्लो अवधिबाट सरेर आएको रकमसहित कुल सञ्चित वितरणयोग्य रकम भने असोज मसान्तमा १ अर्ब ७७ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ९९ करोड ७८ लाख रुपैयाँ थियो । वार्षिक तुलनामा सञ्चित वितरणयोग्य रकम ११.०५ प्रतिशतले घटेको भए पनि गत असार मसान्तको १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँको तुलनामा भने बढेको छ ।
कर्जाको गुणस्तरसम्बन्धी सूचकमा पनि सामान्य दबाब देखिएको छ । संस्थाको निष्क्रिय कर्जा अनुपात (एनपीएल) गत वर्षको पहिलो त्रैमासको ३.०७ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ । त्यस्तै, निष्क्रिय कर्जाको तुलनामा कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात १५१.४२ प्रतिशतबाट घटेर १३३.२३ प्रतिशत कायम भएको छ । पुँजी पर्याप्तता अनुपात पनि १८.२० प्रतिशतबाट घटेर १७.१४ प्रतिशतमा सीमित भएको छ ।
स्रोत परिचालनतर्फ भने निक्षेप र सरकारी सापटी दुवै बढेका छन् । गत असार मसान्तको तुलनामा निक्षेप २.६९ प्रतिशतले बढेर ६ अर्ब ८० करोड ४८ लाख रुपैयाँ पुगेको छ । सरकारबाट लिएको सापटी ३.७९ प्रतिशतले बढेर २० अर्ब ५० करोड ३५ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा नगद तथा नगदसरहको मौज्दातसमेत ३ अर्ब ५८ करोड रुपैयाँबाट बढेर ५ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
संस्थाको कोषको लागत २.९० प्रतिशतबाट घटेर २.६७ प्रतिशतमा आएको छ भने आधार दर ३.७४ प्रतिशतबाट घटेर ३.४९ प्रतिशत कायम भएको छ । तर, ब्याजदर अन्तर भने ३.५५ प्रतिशतबाट घटेर २.७३ प्रतिशतमा झरेको छ । कोषको लागत र आधार दर घटे पनि ब्याजदर अन्तर साँघुरिनुले संस्थाको मुख्य व्यवसायबाट हुने आम्दानीमा दबाब रहेको संकेत गर्छ ।
४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको प्रतिसेयर आम्दानी २१.१९ रुपैयाँबाट घटेर १४.९१ रुपैयाँ कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ भने २२५.२४ रुपैयाँ रहेको छ ।


